पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालयमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वयं सामाजिक सञ्जालको बहसमा जोडिएका छन्।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले आइतबार फेसबुकमा २८ जना पत्रकारको सूचीबारे व्यङ्ग्यात्मक पोस्ट गरेपछि प्रधानमन्त्री बालेनले पनि त्यसमा प्रतिक्रिया दिएका छन्।
बेनले पत्रकारहरूलाई मेन्सन गर्दै फेसबुकमा लेखेका थिए, ‘यो २८ जना पत्रकारमा को–को पर्या हो ? २८ मा नपर्ने नि के पत्रकार भन्नु हैन साथी हो।’
उनको उक्त पोस्टमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री बालेनले लेखेका छन्, ‘कुपण्डोल जाने मात्र पत्रकार, अरू कलाकार।’
प्रधानमन्त्रीको यो टिप्पणीले पत्रकार पक्राउ प्रकरणलाई लिएर भइरहेको बहसलाई थप रोचक र विवादास्पद बनाएको छ। सञ्चारमाध्यम र पत्रकारमाथि प्रहरी धरपकड भएको घटनामा सरकारको जवाफदेहिता खोजिरहेका बेला प्रधानमन्त्री र उनका प्रमुख सल्लाहकार दुवै सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक प्रतिक्रियामा उत्रिएका हुन्।
संविधानको धारा १९ ले सञ्चारको हक सुनिश्चित गरेको छ भने सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले पत्रकारलाई समाचारको स्रोत गोप्य राख्ने अधिकार प्रदान गरेको छ। यस्तो अवस्थामा प्रधानमन्त्री र उनका प्रमुख सल्लाहकारका सार्वजनिक टिप्पणीले पत्रकार पक्राउ प्रकरणको बहसलाई थप पेचिलो बनाएको छ।
प्रकाशित: १५ कार्तिक २०८३ १७:३८ आइतबार





