चितवन राइनोजले प्रस्तुत गरेको १७७ रनको विशाल लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले जवाफी ब्याटिङमा विष्फोटक सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलको १० ओभर सकिँदा जनकपुरले १ विकेटको क्षतिमा ११० रन बनाइसकेको छ।
जनकपुरका ओपनर माज सदाकतले आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका छन्। उनले मात्र २४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५१ रन बनाएका छन्।
उनलाई अनिल साहले दरिलो साथ दिइरहेका छन्। साहले १८ बलमा २ चौका र ३ छक्कासहित ३८ रन बनाएर अविजित खेलिरहेका छन्।
आसिफ शेख आउट भएपछि यी दुईबिच आक्रामक साझेदारी जमिरहेको छ।
चितवनका लागि एकमात्र सफलता कमल ऐरीले हात पारे। उनले ५.१ ओभरमा ओपनर आसिफ शेखलाई १८ रनमा बोल्ड आउट गरेका थिए।
त्यसयता चितवनका बलरहरू महँगो साबित भएका छन्। सोहिल तनभिरले २ ओभरमा ११ रन दिए पनि अन्य बलरहरूमाथि जनकपुरका ब्याटर हाबी भएका छन्।
प्रकाशित: १६ मंसिर २०८२ १४:२२ मंगलबार





