३ वैशाख २०८३ बिहीबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट: बागमतीको हारपछि जय ट्रफीको होड रोमाञ्चक

कप्तान विपिन खत्रीको उत्कृष्ट बलिङमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा फराकिलो जितसँगै जय ट्रफी खेल्ने सम्भावना जीवन्त राखेको छ।

यस प्रधानमन्त्री कपमा शीर्ष ६ स्थानमा रहने टोली आगामी संस्करणको जय ट्रफी (दुई दिवसीय) मा छनोट हुनेछन्। मंगलबार वीरगन्जमा गण्डकीले कर्णाली प्रदेशमाथि ९ विकेटको जित हात पार्दा जनकपुरमा लुम्बिनीले बागमती प्रदेशलाई ३४ रनले हरायो। कर्णालीबाहेक तीनै टोलीको ट्रफीमा पुग्ने सम्भावना बाँकी थियो तर हारसँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको बागमती पहिलोपल्ट जय ट्रफी खेल्न असफल भयो। कर्णालीमाथि फराकिलो जितपछि गण्डकी ९ खेलबाट ९ अंक जोड्दै सातौं स्थानमा छ। समान खेलबाट नेपाल पुलिस क्लब, लुम्बिनी र मधेस प्रदेशको पनि समान ९ अंक नै छ। तर, नेट रनरेटका आधारमा पुलिस, लुम्बिनी र मधेस चौथोदेखि छैटौं स्थानमा छन्। लिगको अन्तिम खेलमा यी टोलीले फराकिलो हार बेहोरे मात्र लुम्बिनी शीर्ष ६ भित्र प्रवेश गर्नेछ।

लिगको अन्तिम खेलमा लुम्बिनीले त्रिभुवन आर्मी क्लबसँग खेल्दा मधेसले पुलिसको सामना गर्नेछ। यिनै खेलले जय ट्रफी खेल्ने थप तीन टोलीको टुङ्गो लाग्नेछ। बागमतीको  हारपछि जय ट्रफीको होड खुला भएको हो। गत संस्करण शीर्ष चारभित्र रहेर बागमतीले जय ट्रफी खेलेको थियो। यसपल्ट बागमती ९ खेलबाट आठौं स्थानमा सीमित भयो। खराब ब्याटिङ सामना गरेपछि बागमती लिगको अन्तिम खेलमा लुम्बिनीसँग पराजित हुन पुग्यो। निर्मल गुरुङले उत्कृष्ट बलिङसँगै पाँच विकेट लिएपछि लुम्बिनीले जित आत्मसात् गरेको हो।

 रामजानकी क्रिकेट मैदानमा लुम्बिनीले दुई सय ३४ रनको मध्यम लक्ष्य दियो तर, खराब ब्याटिङ गरेको बागमती ४४ ओभरमा १९९ रनमा नै अलआउट हुन पुग्यो।

शीर्ष क्रमका ब्याटर सस्तैमा आउट हुँदा बागमती दबाबमा पर्‍यो। विवेक मगर र कप्तान सन्दीप लामिछानेले इनिङ समाल्ने प्रयास गरे पनि सफल भएनन्। विवेकले ४५ रन र कप्तान सन्दीपले ३२ रन बनाए। ४९ बलमा विवेकले तीन चौका र चार छक्का प्रहार गरे। पुछारका ब्याटर सन्दीपले ३६ बलमा दुई चौका र एक छक्का हिर्काए। आशुतोष घिरैया १५ रन, शुभ कंसाकर १२ रन, उतम मगर २३ रन, ईशान पाण्डे १७ रन र रिनजिन लामा १६ रनमा आउट भए। लुम्बिनीको बलिङमा निर्मलले १० ओभरमा चार मेडन राख्दै २७ रन मात्र दिए। विप्रासन केसी र दिनेश बोहोराले समान दुई विकेट लिँदा अजय चौहानको नाममा एक विकेट रह्यो।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनी ४५.२ ओभरमा दुई सय ३३ रनमा नै अलआउट भएको थियो। इनिङको दोस्रो बलमा नै ओपनर रञ्जित खड्का आउट भएपछि लुम्बिनीको सुरुआत राम्रो हुन सकेन। दोस्रो विकेटका लागि ओपनर प्रन्जीव थापा र कप्तान देव खनालले ६५ रनको महत्त्वपूर्ण साझेदारी गरे। प्रन्जीव ४६ र कप्तान देव ३७ रनमा आउट भए। आकाश त्रिपाठीले ७२ रन जोड्दै इनिङ समाले। उनले ७२ बल खेल्दै ९ चौका र १ छक्का प्रहार गरे। सन्तोष यादवले २५ रन र विप्रासन केसीले १३ रन बनाए। बागमतीको बलिङमा विवेकले ७ ओभरमा ३३ रन दिएर ३ विकेट लिए। सन्दीपले पनि तीन विकेट नै लिए। रिजन ढकालले दुई विकेट लिँदा प्रतीश जिसीको नाममा एक विकेट रह्यो।

गण्डकीको सम्भावना जीवन्त

यस प्रतियोगितामा आफ्नो अन्तिम खेलमा गण्डकीले कर्णालीमाथि ९ विकेटको सहज जित निकाल्दा ओपनर ब्याटर अर्जुन कुमालको ५०० रनको आँकडा पार गरे।  

नारायणी क्रिकेट मैदानमा निकै खराब ब्याटिङ गरेको कर्णालीले ७३ रनको झिनो लक्ष्य दियो। गण्डकीले १३ ओभरमा मात्र एक विकेट गुमाएर पूरा लक्ष्य भेट्टायो। गण्डकीका ओपनर सिबरिन श्रेष्ठ ४० रनमा र दीपक डुम्रे २२ रनमा अविजित रहे। सिबरिनले १८ बलमा तीन चौका र एक छक्का प्रहार गरे। लयमा रहेका ओपनर अर्जुन ६ रनमै पभेलियन फर्किए। यस प्रतियोगितामा उनी पहिलोपल्ट न्यून रनमा आउट भएका हुन्। प्रधानमन्त्री कपको एकै संस्करणमा पाँच सय रन पूरा गर्ने अर्जुन पहिलो ब्याटर बने। यस क्रममा उनले दुई शतक र दुई अर्धशतकसहित ५०४ रन जोडे।

सर्वाधिक रनकर्ताको सूचीमा एपिएफका आसिफ शेख (४५७ रन) दोस्रोमा र आर्मीका कप्तान विनोद भण्डारी (४०२ रन) तेस्रो स्थानमा छन्। त्यसअघि पहिले ब्याटिङ गरेको कर्णाली २५.२ ओभरमा मात्र ७२ रनमा नै अलआउट हुन पुग्यो। नवौं नम्बरका ब्याटर प्रकाश जैसी १५ रनमा नटआउट रहे। यो नै सर्वाधिक ठूलो व्यक्तिगत रन रह्यो। कप्तान दिवान पुन १४ र अर्जुन घर्ती १३ रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। गण्डकीको बलिङमा कप्तान विपिनले १० ओभरमा चार मेडन राख्दै मात्र १८ रन दिएर पाँच विकेट लिए। अपराजित पौडेलले तीन तथा कमल परियार र सुवास भण्डारीले एक विकेट लिए।  

प्रकाशित: २ वैशाख २०८३ ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App