२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

युद्धको घाउ र मानसिक तनावबीच विश्वकपको मैदानमा इरान

अमेरिकासँग युद्ध अन्त्य गर्न शान्ति सम्झौता भएको केही घन्टामै द्वन्द्वमा पिल्सिएको इरान फिफा विश्वकप खेल्न कट्टर प्रतिद्वन्द्वी अमेरिकी भूमि लस एन्जलस पुगेको छ।

अमेरिका र इजरायलसँगको युद्धकै कारण इरानले अमेरिकामा जारी विश्वकप खेल्नेबारे दुविधा केही दिनअगाडिसम्म रह्यो भने इरानी फुटबल टोलीले अमेरिका प्रवेश अनुमतिमा पनि दुःख सामना गर्नुपर्‍यो।

यद्यपि, अहिले इरानी टोली विश्वकपको पहिलो खेलभन्दा दुई दिनअगाडि मात्र अमेरिका पुगेको छ। समूह ‘जी’ को आफ्नो पहिलो खेलमा इरानले न्युजिल्यान्डसँग नेपाली समयअनुसार मंगलबार बिहान खेल्नेछ।

लस एन्जलसको सोफी स्टेडियममा उक्त खेल बिहान ६ः४५ बजे सुरु हुनेछ। यो समूहबाट दोस्रो चरणमा पुग्न इरानका लागि निकै कठिन छ। मानसिक तनावका बिच इरानले यो समूहमा बेल्जियम र इजिप्टजस्ता बलिया राष्ट्रसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

युरोपेली व्यावसायिक लिगमा बेल्जियन खेलाडीको वर्चस्व छ। यसपल्ट बेल्जियमलाई दाबेदारमध्ये एकका रूपमा हेरिएको छ।

त्यसमाथि पनि सहभागिताबारे नै अन्योल हुँदा इरानको तयारी प्रभावकारी हुन सकेन। इरान विश्वकपको तयारी अवधिभर युद्ध, राजनीतिक तनाव र भिसा समस्याले प्रभावित बन्यो।

तर, पनि एसियाली राष्ट्र इरानले विश्वकपमा राम्रो सुरुवात गर्ने लक्ष्य राखेको छ। इरानका मुख्य प्रशिक्षक अमिर घालेनोईले टोलीको लक्ष्य फुटबलमार्फत खुसी र एकताको सन्देश दिनु रहेको बताएका छन्।

‘महान्, गौरवशाली र शक्तिशाली इरानी राष्ट्रको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसुस गर्छु। फुटबलले विभिन्न संस्कृति र देशलाई नजिक ल्याओस् भन्ने चाहना छ,’ उनले पत्रकार सम्मेलनमा भने।

एसियाली छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै इरानले विश्वकपमा स्थान बनाएको हो। छनोटका १० खेलमा उसले एक मात्र हार बेहोरेको छ। फिफा वरीयतामा इरान २०औं स्थान र न्युजिल्यान्ड ८५औं स्थानमा छन्। वरीयताका हिसाबले हेर्ने हो भने न्युजिल्यान्डभन्दा इरान बलियो देखिन्छ।

तर, विश्वकप मञ्चमा बिनादबाब जसले राम्रो गर्न सक्छ त्यो टोलीले नतिजा ल्याउन सक्छ। इरानलाई स्वाभाविक रूपमा दबाब हुने आकलन गरिएको छ। इरानका प्रमुख हतियार नै कप्तान मेहदी तारेमी हुन्। इङ्लिस प्रिमियर लिग क्लब नटिङ्घमका स्टार फरवार्ड क्रिस वुडमा न्युजिल्यान्ड निर्भर हुनेछ। इरानका कप्तान तारेमीले युद्धका कारण विश्वकपको उत्साहमा असर परेको बताएका छन्।

‘विश्वकपमा आउने क्षणदेखि नै तनाव महसुस गरिरहेको छु। शान्ति र खुसी हुने वातावरणमा यसपटक अनुभूति फरक भएको छ,’ उनले भने।

युद्धका कारण इरानले अन्तिम समयमा आफ्नो प्रशिक्षण शिविर अमेरिकाको एरिजोनाबाट मेक्सिको सार्नुपरेको थियो। इरानी टोलीका केही सदस्यले अमेरिकी भिसासमेत प्राप्त गर्न सकेनन्।

यसले टोलीको तयारीमा प्रत्यक्ष असर परेको छ। न्युजिल्यान्डले पनि छनोटमा प्रभावशाली प्रदर्शन गरेको छ। यस क्रममा तीन खेलमै १९ गोल गरेको थियो। अभ्यास खेलमा भने न्युजिल्यान्डले इङ्ल्यान्डसँग १–० को हार बेहोर्‍यो। वरीयतामा इरानभन्दा निकै तल रहे पनि न्युजिल्यान्डले कडा चुनौती दिनेछ। इरान र न्युजिल्यान्डबीच हालसम्म दुई पटक भेट भएको छ।

सन् २००३ मा भएको मैत्रीपूर्ण खेलमा १–१ को बराबरी भएको थियो। एउटा खेल भने इरानको पक्षमा रह्यो। इरान लगातार आठौंपल्ट विश्वकप खेल्दै छ।

न्युजिल्यान्ड १६ वर्षपछि विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा फर्किएको हो। ‘अल ह्वाइट्स’ उपनामले चिनिने न्युजिल्यान्डले पछिल्ला तीन संस्करण छनोट भएन। सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा अल ह्वाइट्सले समूहका तीनवटै खेल बराबरीमा नै खेल्यो।

त्यो विश्वकपमा न्युजिल्यान्ड एक मात्र अपराजित टोली बन्यो। ओसियाना क्षेत्रबाट उसले विश्वकपमा स्थान सुरक्षित गरेको हो। प्रशिक्षक डारेन बेजलीको टोलीले पछिल्ला ११ खेलमध्ये दुई खेल जितेको छ भने ९ हार बेहोरेको छ। त्यसमा हाइटीसँगको ४–० को पराजय र इङ्ल्यान्डसँगको १–० को हार पनि समावेश छन्।

गोल गर्ने क्षमताको अभाव न्युजिल्यान्डको मुख्य कमजोरी हो। पछिल्ला ९ हारमध्ये ६ खेलमा टोली गोल गर्नसमेत असफल रह्यो।

सन् १९७८, १९९८, २००६, २०१४, २०१८, २०२२ र २०२६ गरी आठौं पटक विश्वकप खेल्न लागेको इरान एसियाको सबैभन्दा सफल टोलीमध्ये एक हो। पछिल्लो भेटमा इरानले न्युजिल्यान्डलाई ३–० ले पराजित गरेको थियो। ३३ वर्षीय तारेमीले इरानका लागि एक सयभन्दा बढी खेल खेल्दै ६० अन्तर्राष्ट्रिय गोल गरेका छन्। उनको गोल गर्ने क्षमता इरानको सबैभन्दा ठूलो हतियार मानिन्छ।  

तारेमीसँगै सामन घोडोस, सइद इजातोलाही, शोजा खलिलजादेह र मोहम्मद मोहबीजस्ता अनुभवी खेलाडीहरू पनि इरानी टोलीमा छन्। अनुभव, सन्तुलित टोली संरचना र संगठित खेल शैली इरानका मुख्य बल हुन्।

बलिया प्रतिद्वन्द्वी रहेको समूहमा दुवै टोलीका लागि पहिलो खेल ‘गर या मर’ सरह हुनेछ। मैदानबाहिर इरानको सहभागिता विवाद र राजनीतिक बहसको केन्द्रमा रहँदै आयो। लस एन्जलस क्षेत्रमा बसोबास गर्ने इरानी मूलका समुदाय दुई धारमा विभाजित छन्।

एक समूह राष्ट्रिय टोलीलाई समर्थन गर्न स्टेडियम पुग्ने तयारीमा छ भने अर्को समूह इरानी सरकारविरुद्ध प्रदर्शन गर्ने योजनामा छ। लस एन्जलसमा रहेको ठूलो इरानी समुदायले ‘तेहरान्जेलस’ भनेर चिनिने क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको छ।  

ती समुदायले सन् १९७९ को इस्लामिक क्रान्तिअघिको झन्डा प्रयोग गर्ने र सरकारविरुद्ध आवाज उठाउने बताएका छन्। कप्तान तारेमीले टोली राजनीतिभन्दा माथि रहेको बताए।

‘हामी विश्वभर रहेका सबै इरानीका लागि खेलिरहेका छौं। हाम्रो उद्देश्य फुटबलमार्पmत सबै इरानीलाई खुसी दिनु हो। हामी राजनीतिमा संलग्न छैनौं,’ तारेमीले भने। विश्वकपको उद्घाटन समारोहका क्रममा इरानको झन्डा मैदानमा ल्याउँदा केही दर्शकले हुटिङसमेत गरेका थिए। यसले इरानी टोलीमाथि दबाब बढ्न सक्नेछ।

प्रकाशित: १ असार २०८३ २१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App