नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवादले नयाँ मोड लिएको छ।
जीवनराम श्रेष्ठको तेस्रो कार्यकालको अध्यक्षतालाई अवैधानिक भन्दै असन्तुष्ट पक्षले पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा तदर्थ समितिका संयोजक प्रधानले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) वा एसियाली ओलम्पिक परिषद् (ओसीए) को मान्यताको पछि नलागी खेलकुदभित्रको ‘खराब थिति र प्रवृत्ति’ विरुद्ध संगठित भएको बताए।
‘हामी अन्तर्राष्ट्रिय मान्यता पाइन्छ वा पाइँदैन भन्ने सोचले अगाडि बढेका छैनौँ,’ प्रधानले भने, ‘जब बहुमत खेल संघहरू हामीसँग छन्, तब विधानविपरीत पाँचवटा संघले मात्र गरेको निर्वाचनले वैधानिकता पाउन सक्दैन।’
लगातार तेस्रोपटक अध्यक्ष बन्न जीवनराम श्रेष्ठले अनलाइनमार्फत निर्वाचन गराएको र सोही दिन विधान संशोधन गरेको भन्दै पूर्वउपाध्यक्ष सुनिल श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठलगायतका पदाधिकारीले निर्वाचन बहिष्कार गरेका थिए।
उनीहरूले श्रेष्ठको कदम राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र एनओसीको विधानविपरीत रहेको आरोप लगाएका छन्।
‘आफ्नो कार्यकाल सकिएको एक वर्षपछि एकैदिन विधान संशोधन गरेर खराब प्रवृत्तिबाट निर्वाचन गराइएको छ,’ संयोजक प्रधानले भने, ‘जे गरे पनि हुन्छ भन्ने मानसिकता देखिएपछि हामी त्यसको विरुद्धमा उभिएका हौँ।’
तदर्थ समितिले एनओसी मातहतका २७ मध्ये २३ वटा खेल संघको समर्थन आफूहरूलाई रहेको दाबी गरेको छ। पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको ९ सदस्यीय तदर्थ समितिमा अधिकांश खेल संघका अध्यक्षहरू रहेका छन्।
संयोजक प्रधानले आफूले नै एनओसीमा दुई कार्यकालभन्दा बढी र ७० वर्ष उमेर कटेपछि नेतृत्वमा बस्न नपाउने प्रावधान राखेको स्मरण गर्दै हालको भूमिका केवल सहजीकरणका लागि मात्र भएको स्पष्ट पारे। ‘म पदमा बस्न अयोग्य छु, तर खराब प्रवृत्तिविरुद्ध लड्न आग्रह भएपछि सहजीकरण गर्न मात्र आएको हुँ,’ उनले भने।
तदर्थ समितिले विभिन्न चारवटा उपसमिति गठन गरी काम अघि बढाएको छ र छिट्टै २३ वटै संघ सम्मिलित साधारणसभामार्फत नयाँ नेतृत्व चयन गर्ने दाबी गरेको छ।
समितिले यो विवादबारे आईओसीको इथिक्स कमिटीलाई समेत जानकारी गराइसकेको जनाएको छ। उनीहरूले यो लडाइँले कुनै पनि खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट वञ्चित नगराइने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
तदर्थ समितिमा को-को छन् सदस्यहरू ?
राजीव विक्रम शाह (एथ्लेटिक्स संघका अध्यक्ष), समिम मियाँ अन्सारी (कुस्ती संघका उपाध्यक्ष), सुनिल श्रेष्ठ (फेन्सिङ संघका अध्यक्ष), निलेन्द्रराज श्रेष्ठ (ट्रायथोलन संघका अध्यक्ष), पुष्पदास श्रेष्ठ (सुटिङ संघका अध्यक्ष), अनिल शर्मा (हक्की संघका अध्यक्ष), विजेन्द्र हमाल (टेबलटेनिस संघका अध्यक्ष) र रवि राजकर्णिकार (घोडचढी संघका अध्यक्ष)।
प्रकाशित: ५ भाद्र २०८२ १८:५८ बिहीबार




