जुनियर खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यसै सातादेखि आठौं नेकोस अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता काठमाडौंमा हुने भएको छ।
नेकोस राष्ट्रिय जुडो संघ नेपालको आयोजनामा आगामी चैत ५ देखि ९ गतेसम्म काठमाडौंको नयाँ बजारमा उक्त अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो। काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै संघका अध्यक्ष धर्मकुमार श्रेष्ठले उक्त प्रतियोगिताबारे जानकारी दिएका हुन्। यस प्रतियोगितामा नेपालसहित भुटान, बंगलादेशका खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। मलेसिया र भारतका खेलाडीले खेल्ने तय भए पनि मध्यपूर्वमा चलेको द्वन्द्वका कारण अन्तिम समयमा रद्द भएको संघले जनाएको छ। प्रतियोगितामा क्याडेट १८ वर्षमुनि र जुनियर (१८ देखि २१ वर्ष) मा प्रतिस्पर्धा हुनेछन्। यद्यपि, यो उमेरसमूहमा राष्ट्रिय टोलीका सदस्य भए उनीहरूले पनि प्रतिस्पर्धा गर्न पाउने भएका छन्।
पामबाट दुई जना राष्ट्रि खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । १८ वर्षमुनि क्याडेटमा ११ तौलसमूहमा र महिलामा १० तौलसमूहमा प्रतिस्पर्धा हुनेछन् । १८ देखि २१ वर्ष उमेरसमूहसम्म पुरुषतर्फ र महिलामा समान सात तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
बंगलादेशबाट २० र भुटानबाट १९ खेलाडीको सहभागिता रहेको छ। उक्त प्रतियोगितामा बी एन्ड टी ट्रेडिङ को. लिमिटेड, जापानले १८ लाख बराबरको मुख्य प्रायोजन गर्ने भएको छ। पत्रकार सम्मेलनमान नै बी एन्ड टी ट्रेडिङका सिइओ विष्णु गिरी र नेकोस राष्ट्रिय जुडो संघ नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठबीच प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
सो अवसरमा बी एन्ड टी ट्रेडिङका सिइओ गिरीले आफ्नो संस्थाको प्रवर्धनभन्दा पनि नेपालको खेलविकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रायोजन गरेको बताए।
उक्त प्रतियोगिता मल्टिपर्पोज मार्सल आटर््स सेन्टरमा आयोजना गरिनेछ। प्रतियोगिताको मुख्य उद्देश्य अन्तर्राष्ट्रियस्तरमा नेपाली खेलाडीको अनुभव अभिवृद्धि गर्नुका साथै जुडो खेलको विकास र विस्तार गर्नु रहेको आयोजकले जनाएको छ।
विजेताहरूले स्वर्ण, रजत र कांस्य पदकसहित प्रमाणपत्र पाउनेछन्। साथै सहभागी खेलाडीहरूका लागि आवश्यक स्वास्थ्य सेवा, बिमा तथा अन्य व्यवस्थापनको तयारी पूरा गरिएको आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा करिब ३०० जना खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै आयोजक संघका अध्यक्ष श्रेष्ठले खेलाडीका लागि पाँच लाखसम्मको बिमा गरेको बताए।
प्रकाशित: ४ चैत्र २०८२ ०६:२९ बुधबार





