नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ (एनएसइएमआइए) को आयोजनामा शुक्रबारदेखि एनएसइएमआइए राष्ट्रव्यापी अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता हुने भएको छ।
प्रतियोगितामा यु–१२ तथा यु–१६ ब्वाइज/ गर्ल्स, सिंगल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने एनएसइएमआईएका अध्यक्ष बिजेन्द्रविक्रम शाहले जनाएका छन्। हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार पाउनेछन्।
आयोजक संघ स्थापनाको ३६औं वर्ष पूरा भएको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहने बताइएको छ। अखिल नेपाल टेबल टेनिस संघको तत्त्वावधान तथा स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको सहकार्यमा हुने दुईदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछन्।
प्रकाशित: ३ मंसिर २०८२ ०८:१३ बुधबार





