चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ।
पुष्पसदन आवासीय माध्यमिक विद्यालयको आयोजनामा हुने प्रतियोगितामा तीन विधातर्फ प्रतिस्पर्धा हुने भएको हो। विभिन्न विद्यालयका ५१ टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने पुष्पसदनका संस्थापक एवं निर्देशक महेश श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
सिनियर ब्वाइजमा १९, जुनियर ब्वाइजमा सात र गर्ल्समा २५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन्। गर्ल्सको प्रतिस्पर्धा थ्री बाइ थ्री ढाँचामा हुनेछ। सामुदायिक विद्यालयका लागि प्रवेश निःशुल्क गरिएको प्रतियोगिता मंसिर एक गतेसम्म कीर्तिपुरस्थित आयोजककै कोर्टमा हुनेछ। संस्थापक श्रेष्ठले विभिन्न स्तरका बुद्धिचाल, टेबलटेनिस, फुटसल र तानडोरी प्रतियोगिता आयोजना गर्दै आएकोमा चाँडै क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारीमा रहेको बताए।
प्रकाशित: २१ कार्तिक २०८२ ०९:२० शुक्रबार





