२४ आश्विन २०८३ शनिबार
image/svg+xml
खेल

फिफा अध्यक्षमा इन्फान्टिनोको पुनर्निर्वाचत हुने सम्भावना बलियो

फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पुनर्निर्वाचत हुने सम्भावना बलियो बनेको छ। उनका सम्भावित प्रतिस्पर्धी मानिएका भिक्टर मोन्टाग्लियानीले उत्तर तथा मध्य अमेरिका र क्यारेबियन क्षेत्रको फुटबल महासंघ (कन्काकाफ) को अध्यक्षमा अर्को कार्यकालका लागि प्रतिस्पर्धा गर्ने तयारी गरेपछि इन्फान्टिनोलाई चुनौती दिने सम्भावित उम्मेदवारको विकल्प साँघुरिएको हो।

क्यानडाका ६१ वर्षीय मोन्टाग्लियानीलाई इन्फान्टिनोका सम्भावित प्रतिस्पर्धीका रूपमा हेरिएको थियो। विश्वकपमा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने इन्फान्टिनोको योजनाले विश्वव्यापी आलोचना निम्त्याएपछि मोन्टाग्लियानी अध्यक्ष पदका सम्भावित उम्मेदवारका रूपमा चर्चामा आएका थिए।

तर उनले इन्फान्टिनोविरुद्ध उम्मेदवारी दिने औपचारिक घोषणा गरेका थिएनन्। प्राप्त विवरणअनुसार उनले सहकर्मीहरूलाई कन्काकाफको अध्यक्षमा अन्तिम कार्यकालका लागि अघि बढ्ने जानकारी गराएका छन्। यससँगै आगामी मार्चमा हुने फिफा अध्यक्ष निर्वाचनमा उनी इन्फान्टिनोविरुद्ध प्रतिस्पर्धा नगर्ने देखिएको छ।

५६ वर्षीय इन्फान्टिनो चौथो कार्यकालका लागि अध्यक्ष बन्ने प्रयासमा छन्। उनलाई चुनौती दिन युरोपेली फुटबल महासंघ (यूईएफए) को नेतृत्वमा असन्तुष्ट पक्षले साझा उम्मेदवार खोजिरहेको छ। उम्मेदवारी दर्ताको अन्तिम म्याद नोभेम्बर १८ तोकिएको छ।

यसैबीच, यूईएफएका अध्यक्ष अलेक्जान्डर सेफेरिनले पनि चौथो कार्यकालका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। स्लोभेनियाका ५८ वर्षीय सेफेरिनले बर्लिनमा आयोजित यूईएफएका ५५ सदस्य राष्ट्रका प्रमुखहरूको बैठकमा आफ्नो निर्णय सुनाएका हुन्।

सेफेरिन सन् २०१६ मा पहिलोपटक यूईएफए अध्यक्ष निर्वाचित भएका थिए। उनले सन् २०२४ को फेब्रुअरीमा पुनः अध्यक्ष नबन्ने बताएका थिए। तर संस्थाको विधान संशोधन गरेर चौथो कार्यकालमा पनि प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था गरिएपछि उनको उम्मेदवारीबारे चर्चा बढेको थियो।

यूईएफएले इन्फान्टिनोको नेतृत्वप्रति असहमति जनाउँदै विश्व फुटबलको सर्वोच्च निकाय फिफामा सुधार गर्न १४ बुँदे प्रस्तावसमेत सार्वजनिक गरेको छ। इन्फान्टिनोले विश्वकपमा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने योजना व्यापक विरोधपछि फिर्ता लिएका थिए।

सेफेरिनले सदस्य राष्ट्रहरूले आफूलाई देखाएको विश्वासप्रति आभार व्यक्त गर्दै युरोपेली फुटबललाई एकताबद्ध बनाउने, खेललाई अझ बलियो बनाउने र आगामी पुस्ताका लागि यूईएफएलाई तयार पार्ने आफ्नो लक्ष्य रहेको बताएका छन्।

यद्यपि सेफेरिनले स्वयं फिफा अध्यक्षमा इन्फान्टिनोविरुद्ध उम्मेदवारी नदिने स्पष्ट पारेका छन्। उनले मार्चमा हुने निर्वाचनका लागि विभिन्न पक्षलाई एकताबद्ध गर्न सक्ने साझा उम्मेदवार खोज्ने प्रयासलाई समर्थन गर्ने जनाएका छन्।

मोन्टाग्लियानी फिफा अध्यक्षको दौडबाट अलग हुने संकेत र सेफेरिनको यूईएफए अध्यक्षमा पुनः उम्मेदवारी दिने निर्णयले आगामी फिफा निर्वाचनको समीकरणलाई थप रोचक बनाएको छ।

प्रकाशित: २३ आश्विन २०८३ ०९:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App