सरसफाइ मानव स्वास्थ्य, वातावरणीय स्वच्छता, व्यक्तिगत मर्यादा र सामाजिक प्रतिष्ठासँग प्रत्यक्ष जोडिएको आधारभूत आवश्यकता हो। यसमा शौचालयको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ।
शौचालय केवल दिसा-पिसाब गर्ने स्थान होइन, यो मानव अधिकार, स्वास्थ्य, सुरक्षा, लैंगिक समानता र सभ्य समाज निर्माणको आधारभूत पूर्वाधार हो। कुनै पनि समाजको विकास र नागरिक चेतनाको स्तर मापन गर्ने एउटा महत्वपूर्ण सूचक त्यहाँको शौचालयको उपलब्धता, अवस्था र व्यवस्थापन पनि हो।
यति महत्वपूर्ण विषय हुँदाहुँदै पनि सुरक्षित सरसफाइ आज विश्वकै गम्भीर चुनौतीका रूपमा रहेको छ। विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बाल कोषको सन् २०२५ को तथ्यांकअनुसार विश्वभर करिब ३.४ अर्ब मानिस सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइ सेवाबाट वञ्चित छन्। अझै ३५ करोड ४० लाख मानिस खुला ठाउँमा दिसा गर्न बाध्य छन्। यसले सुरक्षित शौचालयको पहुँच विश्वव्यापी रूपमा सुनिश्चित गर्न अझै धेरै काम गर्न बाँकी रहेको देखाउँछ।
नेपालको सन्दर्भमा हेर्दा सरसफाइ क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको छ। दुई दशकअघिसम्म अधिकांश नेपाली घरपरिवारमा शौचालयको सुविधा थिएन र खुला दिसा गर्ने प्रचलन व्यापक थियो। सरकारको नेतृत्व, विकास साझेदार तथा सरसफाइ क्षेत्रमा कार्यरत संघसंस्थाको निरन्तर प्रयास, समुदायको सहभागिता र जनचेतनामूलक अभियानका कारण शौचालय निर्माण र प्रयोगमा उल्लेखनीय सुधार आयो। यही सामूहिक प्रयासको परिणामस्वरूप नेपालका प्रत्येक घरधुरीमा एक घर एक शौचालय भएको उपलक्ष्यमा नेपाललाई सन् २०१९ मा खुला दिसामुक्त राष्ट्र घोषणा गरियो।
खुला दिसामुक्त राष्ट्र घोषणा हुनु र सबै नागरिकले सुरक्षित सरसफाइ सेवा प्राप्त गर्नु फरक विषय हुन्। राष्ट्रिय जनगणना २०७८ अनुसार अझै ४.५ प्रतिशत घरपरिवारमा शौचालयको सुविधा छैन। हालै सार्वजनिक गरिएको नेपालमा खानेपानी तथा सरसफाइको अवस्था विषयक प्रतिवदेनअनुसार सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइ सेवा प्रयोग गर्ने जनसंख्या ३९.९ प्रतिशत छ।
नेपालमा अहिले पनि सार्वजनिक तथा संस्थागत शौचालयको अवस्था चुनौतीपूर्ण छ। राजमार्ग, पर्यटकीय गन्तव्य, बजार क्षेत्र, बसपार्क, विद्यालय र स्वास्थ्य संस्थाहरूमा पर्याप्त, स्वच्छ र प्रयोगमैत्री सार्वजनिक शौचालयको अभाव देखिन्छ। भएका शौचालयमध्ये पनि कतिपयमा नियमित सरसफाइ, पानी, साबुन र मर्मतसम्भारको व्यवस्था छैन। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिका आवश्यकतालाई पर्याप्त सम्बोधन गर्न सकिएको छैन। विशेषगरी महिलाका लागि सुरक्षित, गोपनीयता कायम हुने, महिनावारी स्वच्छता व्यवस्थापन गर्न मिल्ने र अपांगतामैत्री शौचालयको उपलब्धता सुनिश्चित गर्नु आवश्यक छ।
नेपाल सरकारले सार्वजनिक शौचालयको निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि दिग्दर्शन तयार गरेको छ। स्थानीय तहहरूले सरसफाइसम्बन्धी नीति, योजना तथा कार्यक्रम अघि बढाएका छन्। कतिपय स्थानमा दिसाजन्य लेदो व्यवस्थापनका लागि प्रशोधन केन्द्र निर्माण तथा सञ्चालनका प्रयास भइरहेका छन्। विद्यालय तथा स्वास्थ्य संस्थामा सरसफाइ सुविधा सुधार, खानेपानी र हात धुने व्यवस्थाको विस्तार तथा समुदायस्तरमा व्यवहार परिवर्तनका कार्यक्रम पनि सञ्चालनमा छन्।
काठमाडौं उपत्यकामा केही स्मार्ट शौचालय जहाँ स्नान घर पनि जोडेर संरचना तयार गरिएको छ। अबको प्राथमिकता शौचालय निर्माणमा मात्र सीमित हुनुहुँदैन। शौचालयबाट निस्कने दिसाजन्य लेदो र फोहोरपानीको सुरक्षित संकलन, ढुवानी, प्रशोधन तथा अन्तिम व्यवस्थापनसम्मको सम्पूर्ण चक्रलाई व्यवस्थित गर्नुपर्छ। सेप्टिक ट्यांकीको नियमित सफाइ, दिसाजन्य लेदोको सुरक्षित ढुवानी र प्रशोधन केन्द्रको प्रभावकारी सञ्चालन सुनिश्चित गर्न सेवा प्रदायक, निमायक निकाय र उपभोक्ता भूमिका प्रष्ट पार्नुपर्ने भएको छ। प्रशोधित पानी तथा सुरक्षित रूपमा प्रशोधित मलजन्य पदार्थको उपयुक्त पुन:प्रयोगले वातावरण संरक्षण र स्रोतको दिगो उपयोगमा समेत योगदान पुर्याउँछ।
सार्वजनिक शौचालयलाई स्थानीय सरकारको अनावश्यक आर्थिक भारका रूपमा होइन, नागरिकको आधारभूत सेवा र सार्वजनिक पूर्वाधारका रूपमा लिनुपर्छ। निर्माणसँगै सञ्चालन तथा मर्मतसम्भारको दिगो आर्थिक मोडल विकास गर्नुपर्छ। निजी क्षेत्र, समुदाय र स्थानीय सरकारबिच सहकार्य गर्न सकिन्छ। शौचालय निर्माणको योजना बनाउँदा महिला, किशोरी, अपांगता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ। उनीहरूको आवश्यकता र आवाज योजनादेखि निर्णय तथा व्यवस्थापनसम्म प्रतिबिम्बित हुनुपर्छ।
शौचालय र सरसफाइमा लगानी गर्नु खर्च मात्र होइन, मानव स्वास्थ्य, आर्थिक उत्पादकत्व, वातावरण संरक्षण र सामाजिक समृद्धिमा गरिएको लगानी हो। विभिन्न अध्ययनले के देखाएको छ भने प्रतिव्यक्ति एक अमेरिकन डलर सुरक्षित सरसफाइमा गरेको लगानीले समाजलाई ५.५ अमेरिकन डलर आर्थिक प्रतिफल दिन्छ। सुरक्षित सरसफाइले रोगको जोखिम र उपचार खर्च घटाउँछ, बालबालिकाको विद्यालय उपस्थिति सुधार्छ, महिलाको सुरक्षा तथा मर्यादा कायम गर्छ र पर्यटन तथा आर्थिक गतिविधिलाई प्रवर्धन गर्छ। त्यसैले तीनै तहका सरकारले सरसफाइलाई विकासको प्राथमिकतामा राख्दै पर्याप्त बजेट, दक्ष जनशक्ति, प्रविधि र प्रभावकारी अनुगमन प्रणाली सुनिश्चित गर्नुपर्छ।
यही सन्दर्भमा प्रत्येक वर्ष नोभेम्बर १९ मा मनाइने विश्व शौचालय दिवसको विशेष महत्व छ। संयुक्त राष्ट्रसंघले सन् २०१३ मा यस दिवसलाई आधिकारिक मान्यता दिएको हो। यसको उद्देश्य विश्वव्यापी सरसफाइ संकटप्रति ध्यानाकर्षण गराउनु, सुरक्षित शौचालयको पहुँच सुनिश्चित गर्न पैरवी गर्नु र दिगो विकास लक्ष्यअन्तर्गत सबैका लागि सुरक्षित सरसफाइ सेवा उपलब्ध गराउने प्रयासलाई तीव्र बनाउनु हो।
सन् २०२६ को विश्व शौचालय दिवसको मूल विषयवस्तु ‘सरसफाइ र लैंगिक समानता’ रहेको छ भने अभियानको मुख्य नारा ‘सुरक्षित शौचालय, समान भविष्य’ रहेको छ। यस वर्षको अभियानले सुरक्षित, स्वच्छ, पहुँचयोग्य र गोपनीयता सुनिश्चित भएका शौचालयले महिला तथा किशोरीको स्वास्थ्य, सुरक्षा, आत्मसम्मान र अवसरमा पार्ने सकारात्मक प्रभावलाई उजागर गरेको छ। सुरक्षित शौचालय, पानी, साबुन र महिनावारी स्वच्छता व्यवस्थापनको सुविधा उपलब्ध हुँदा किशोरीले निर्धक्क विद्यालय जान, महिलाले काम गर्न र सार्वजनिक जीवनमा समान रूपमा सहभागी हुन सक्छन्। त्यसैले सरसफाइको संकटले सबैलाई असर गरे पनि यसको भार महिला तथा किशोरीले अझ बढी बेहोर्नुपरेको यथार्थलाई यस दिवसले विशेष रूपमा उठाएको छ।
नेपालले खुला दिसामुक्त राष्ट्र बन्ने ऐतिहासिक उपलब्धि हासिल गरिसकेको छ। अब हाम्रो प्राथमिकता सुरक्षित, समावेशी, मर्यादित र दिगो सरसफाइ सुनिश्चित गर्दै सरसफाइको अर्को चरणमा प्रवेश गर्नु हुनुपर्छ। यसका लागि शौचालय निर्माणमा मात्र सीमित नभई यसको नियमित प्रयोग, सरसफाइ तथा मर्मतसम्भार, सबैका लागि पहुँचयोग्यता र दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापन सुनिश्चित गर्न आवश्यक छ। साथै, सरसफाइसम्बन्धी नीति तथा निर्णय प्रक्रियामा सबै वर्ग र समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै प्रभावकारी कार्यान्वयनका लागि पर्याप्त बजेट र संस्थागत प्रतिबद्धता आवश्यक छ।
जबसम्म आन्तरिक तथा बाह्य पर्यटकले पर्याप्त र स्वच्छ सार्वजनिक शौचालयको अभावका कारण नेपाल भ्रमण गर्न असहज महसुस गर्छन्, महिला, बालिका तथा अपांगता भएका व्यक्तिहरूले सार्वजनिक शौचालयको अभावमा लामो यात्रा गर्नुपर्दा पानी र खाना उपभोग गर्नसमेत हिचकिचाउनुपर्छ, महिनावारीका कारण विद्यालयमा सुरक्षित र सुविधायुक्त शौचालयको अभावले कुनै पनि बालिकाको नियमित पठनपाठन प्रभावित हुन्छ, दिसाजन्य लेदोको असुरक्षित व्यवस्थापनका कारण हाम्रा नदी तथा खोलाहरू प्रदूषित भइरहन्छन् र दूषित पानी तथा कमजोर सरसफाइका कारण हुने रोगहरू नियन्त्रणमा आउन सक्दैनन्, तबसम्म नेपालले सरसफाइको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ भन्ने यथार्थ स्वीकार गर्नुपर्छ। खुला दिसामुक्त राष्ट्र हुनु हाम्रो ऐतिहासिक उपलब्धि हो तर सुरक्षित, समावेशी र दिगो सरसफाइयुक्त राष्ट्र निर्माण गर्नु हाम्रो साझा राष्ट्रिय दायित्व हो।
-गौतम लामो समयदेखि खानेपानी तथा सरसफाइ क्षेत्रमा काम गर्दै आएका छन्।
प्रकाशित: ९ मंसिर २०८३ ०८:११ बुधबार

