विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले बिहीबार बसेको संस्थाको सर्वोच्च निर्णयकारी निकाय फिफा काउन्सिलको बैठकमा आफ्ना कडा आलोचकहरूसँग माफी मागेका छन् तर फिफासँग सम्बन्धित र विवादित विषयमा नयाँ विवरण वा कागजात भने प्रस्तुत गरेनन्।
गत जुलाईमा सार्वजनिक गरेर पछि फिर्ता लिइएको चार अर्ब २० करोड अमेरिकी डलरको फिफा विश्वकपको अधिकारमा साझेदारीबारे भने इन्फान्टिनो उल्लेख गरेनन्। व्यावसायिक अधिकार बिक्री योजनाबारे फिफाको काउन्सिल बैठकमा कुनै कागजात प्रस्तुत भएन। गत विश्वकपमा अमेरिकी खेलाडीको कारबाही फिर्ताबारे पनि बैठकमा उनी मौन रहे।
उक्त विश्वकपमा अमेरिकी राष्ट्रिय टोलीका फरवार्ड फोलारिन बालोगुनलाई रातो कार्ड देखाइए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्तक्षेपपछि त्यो निर्णय फिर्ता भएको थियो। त्यो निर्णयपछि फिफा र फिफाका अध्यक्ष इन्फान्टिनोको ब्यापक आलोचना पनि भयो।
गत डिसेम्बरमा ट्रम्पलाई प्रदान गर्न स्थापना गरिएको शान्ति पुरस्कारलाई निरन्तरता दिने वा नदिने विषयमा फिफाले समीक्षा गर्ने भएको छ। विश्वकपको व्यावसायिक अधिकार व्यवस्थापन गर्न निजी लगानीकर्तासँग मिलेर अघि बढ्न खोजिएको थियो। त्यसमा पनि ट्रम्पकै निकट व्यक्ति जोडिएका थिए। उक्त गोप्य योजनाबारे लिखित प्रमाण माग गर्दै युरोपेली फुटबल अधिकारीहरूले दबाब दिँदै आएका छन्।
बैठकमा पनि त्यो प्रश्न उठेपछि इन्फान्टिनोले लिखित प्रश्न पेस गर्न आग्रह गरेको फिफा उपाध्यक्ष डेबी ह्युइटले बताइन्। उक्त बैठक साढे तीन घण्टा लामो चलेको थियो। जहाँ इन्फान्टिनोले दबाब सामना गर्नुप¥यो। इङ्ल्यान्ड फुटबल संघकी अध्यक्षसमेत रहेकी ह्युइटले आफ्नो अध्यक्ष इन्फान्टिनोले सबै प्रश्नको जबाफ दिनैपर्ने उल्लेख गरेकी छन्।
‘उनले ती प्रश्नको जवाफ दिनैपर्छ। यदि उनले ती प्रश्नको जवाफ दिएनन् भने उनी फिफा अध्यक्ष बन्न योग्य छैनन्,’ उनले भनेकी छन्। युरोपेली फुटबल महासंघ (युइएफए) ले आगामी मार्चमा हुने फिफा अध्यक्षको निर्वाचनअघि वा निर्वाचनकै क्रममा इन्फान्टिनोलाई पदबाट हटाउने प्रयासको नेतृत्व गरिरहेको छ।
बिहीबारको बैठकले पनि युइएफएको उक्त अडान परिवर्तन गर्ने गरी कुनै उपलब्धि हासिल गर्न सकेन। ‘कुनै पनि सन्तोषजनक जवाफ प्राप्त भएन,’ फिफा काउन्सिलका ३७ सदस्यमध्ये युइएफाका आठ प्रतिनिधिमध्ये एक तथा जर्मन फुटबलका प्रमुख बन्र्ड नोयन्डोर्फले भने।
इन्फान्टिनोले विवाद चर्किएपछि पहिलोपटक काउन्सिलको बैठक बोलाएका थिए। विश्वकपको व्यावसायिक अधिकारसम्बन्धी निजी लगानी योजना सार्वजनिक भएपछि पहिलोपल्ट फिफाको काउन्सिल बैठक बसेको हो। ‘फिफालाई इमानदार व्यक्तिको आवश्यकता छ। संस्थाको प्रतिष्ठा पुनःस्थापित गर्न सक्ने व्यक्तिको आवश्यकता छ।
संस्थाको प्रतिष्ठा निश्चय नै गुमेको छ,’ नोयन्डोर्फले भने। बैठकको सुरुआतमा भने इन्फान्टिनोले आफ्ना सहकर्मीहरूसँग माफी मागेका थिए। अमेरिकी लगानीकर्ता जोसुवा कुस्नरसँग मिलेर अघि बढाउन खोजेको निजी लगानी योजनाबारे काउन्सिललाई जानकारी नदिनु गल्ती भएको इन्फान्टिनोले स्वीकार गरेका छन्। त्यस विषय एक्कासि सार्वजनिक गरेको र त्यसले ठूलो विवाद निम्त्याएको भन्दै उनले माफी मागेका हुन्।
गत जुलाईमा सम्पन्न विश्वकपको फाइनल भएको ९ दिनपछि सञ्चारमाध्यममा उक्त योजनाबारे समाचार सार्वजनिक भएको थियो। ‘पश्चात्तापसहित अध्यक्षले माफी मागे,’ ह्युइटले भनिन्। इन्फान्टिनोविरुद्ध स्विट्जरल्यान्डमा आपराधिक उजुरी दिने प्रयोजनका लागि प्रमाण जुटाउन अनुमति माग्दै युइएफएले अमेरिकी अदालतमा निवेदन दिएको छ।
अदालतमा पेस गरिएका कागजातमा विश्वकपको व्यावसायिक अधिकार व्यवस्थापन गर्ने प्रस्तावित सहायक कम्पनीको मूल्याङ्कनमार्फत फिफाको आर्थिक स्रोतको सम्भावित दुरुपयोग भएको हुन सक्ने आरोप उल्लेख छ।
उक्त कम्पनी जोसुवा कुस्नरको नेतृत्वमा छ। लगानीकर्ता समूहको कम्तीमा २० प्रतिशत स्वामित्व रहने प्रस्ताव थियो। कुस्नर अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुस्नरका भाइ हुन्।
प्रकाशित: ३० आश्विन २०८३ ०६:५७ शुक्रबार




-600x400.jpg)
