बुधबारदेखि काठमाडौंमा सुरु हुने भक्त राना स्मृति बुद्धिचाल प्रतियोगितामा नेपाल र भारतका गरी दुई सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
अखिल नेपाल बुद्धिचाल संघ र नेसनल स्पोर्ट्स एकेडेमीको आयोजनामा आगामी बुधबार र बिहीबार भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता हुँदै छ।
सिनामंगलस्थित होटल रोयल एयरपोर्टमा प्रतियोगिता हुनेछ। बाल्यकालदेखि खेलकुदमा चासो राख्ने रानाको गत वर्ष निधन भएको थियो।
सानै उमेरमा उनी समाज परिवर्तन गर्ने उद्देश्यले माओवादी युद्धमा सरिक थिए। उनै भक्त रानाको स्मृतिमा बुद्धिचाल प्रतियोगिता हुन लागेको हो।
अखिल नेपाल बुद्धिचाल संघका अध्यक्ष दीपेन राईले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए। उक्त प्रतियोगितामा १९ सयभन्दा कम रेटिङका खेलाडीको मात्र प्रतिस्पर्धा गर्न पाउनेछन्।
प्रतियोगितामा खुला, महिला, भेट्रान, अनरेटेड तथा उमेर समूहमा प्रतिस्पर्धा हुनेछ। यस प्रतियोगितामा दुई लाखभन्दा बढी पुरस्कार राशिको व्यवस्था गरिएको छ।
र्यापिड चेस प्रतियोगिता स्विस लिगको आधारमा ९ चरणमा सञ्चालन हुनेछ। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रतियोगिताको उद्घाटन गर्ने आयोजकले जनाएको छ।
काठमाडौंमा आयोजना हुने बुद्धिचाल प्रतियोगिताको पुरस्कार राशि दुई लाख ४ हजार रुपैयाँ रहेको छ। प्रतियोगिताको लागत ११ लाख ४३ हजार रुपैयाँ छ। आयोजक अखिल नेपाल बुद्धिचाल संघले विगतमा पनि स्तरीय प्रतियोगिता आयोजान गर्दै आएको छ।
साथै, चेस खेलको विकासमा समर्पित यो संस्थाले विगतमा आयोजना गरेका हरेक प्रतियोगिता उत्कृष्ट हुने गरेको छ। आधा दशक अघि देखि यो संघको देश भरी नै सक्रियता छ।
प्रतियोगिता आयोजना मात्र नभएर चेसकर्मीको सम्मान र व्यक्तित्व विकासमा समेत यो संघ अग्रणी छ। गत वर्ष निधन भएका भक्त राना पूर्वमाओवादी लडाकु हुन्।
प्रकाशित: १० भाद्र २०८२ १६:११ मंगलबार





