अस्ट्रेलियाविरुद्धको तेस्रो टी-२० क्रिकेटमा भारतले सनसनीपूर्ण जित निकालेको छ । होबर्टमा आइतबार भएको खेलमा भारतले घरेलु टोली अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्यो । योसँगै ५ खेलको सिरिज १-१ को बराबरीमा आएको छ । पहिलो खेल वर्षाले रद्द भएको थियो भने दोस्रोमा अस्ट्रेलिया ४ विकेटले विजयी भएको थियो ।
अस्ट्रेलियाले दिएको १८७ रनको उच्च लक्ष्य भारतले १८.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । उसको जितमा वासिङ्टन सुन्दरले २३ बलमा नटआउट ४९ रनको विष्फोटक पारी खेले । जितेश सिंह २२ रनमा नटआउट रहँदा तिलक बर्माले २९ रन बनाए ।
अस्ट्रेलियाका लागि नाथन एलिसले ३ विकेट लिएपनि हार भने टार्न सकेनन् ।
यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १८६ रन बनाएको थियो । उसका लागि टिम डेभिडले ३८ बलमा ७४ र मार्कस स्टोइनिसले ३९ बलमा ६४ रन बनाएका थिए ।
भारतका लागि अर्सदीप सिंहले ३ र भरुण चक्रवर्तीले २ विकेट लिए ।
सिरिजको चौथो खेल मंगलबार हुनेछ ।
प्रकाशित: १६ कार्तिक २०८२ १७:५५ आइतबार





