२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

फाइनल जितेर पनि भारत ट्रफीबिहीन, पाकिस्तानले उठायो प्रश्न

एसिया कप २०२५ को फाइनलमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै उपाधि हात पारेको छ। जितेपछि दुई देशका खेलाडीबिच आरोप–प्रत्यारोप चर्किएको छ। पाकिस्तानका कप्तान सलमान अघाले भारतको व्यवहारलाई ‘क्रिकेटप्रतिको अनादर’ भनेका छन् भने भारतीय कप्तान सूर्यकुमार यादवले च्याम्पियन टोलीलाई ‘ट्रफीबाट वञ्चित’ गरिएको आरोप लगाएका छन्।

दुबईमा भएको उपाधि निर्णायक खेलपछि तेस्रो खेलमा जस्तै दुवै टोलीले हात मिलाउन अस्वीकार गरे। भारतीय टोलीले पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष तथा एसिसीका प्रमुख मोहसिन नकवीबाट ट्रफी लिन नमानेपछि र विजय समारोहमा सहभागी नभएपछि विवाद थप चर्कियो।

पत्रकारहरूसँग कुरा गर्दै कप्तान सूर्यकुमारले भने, 'मैले क्रिकेट खेल्न थालेदेखि आजसम्म कहिल्यै देखेको थिइनँ कि च्याम्पियन टोलीलाई ट्रफी दिनै नमानिएको होस्। हामीले मैदानमै बसेर सामूहिक निर्णय गरेका थियौँ। वास्तविक ट्रफी त मेरा खेलाडी र सहयोगी स्टाफ हुन्, जुन ड्रेसिङ रुममै छन्। ठुलो पर्दामा ‘भारत एसिया कप २०२५ को विजेता’ भनेर देखिनु नै हाम्रो लागि ठुलो गौरव हो।'

समारोह करिब एक घण्टा ढिलाइ गर्दै आयोजना गरिएको थियो। सो अवसरमा उद्घोषक साइमन डुलले सार्वजनिक रूपमा भने, 'भारतीय टोलीले पुरस्कार ग्रहण नगर्ने निर्णय गरेको एसीसीले मलाई जानकारी गराएको छ। यसैसँगै आजको प्रस्तुति समारोह समाप्त हुन्छ।'

यसप्रति पाकिस्तानका कप्तान अघाले भने, 'प्रतियोगिताभर भारतले जे व्यवहार देखायो, त्यो क्रिकेटका लागि निकै निराशाजनक हो। यदि उनीहरूले हामीसँग हात नमिलाएर हाम्रो अनादर गरेको सोच्दा हुन् भने, वास्तवमा उनीहरूले खेलकै अनादर गरेका हुन्। हामीले भने खेल ‘स्पिरिट’ अनुसार पदक लिएर फर्कियौँ।'

यो संस्करणको एसिया कप विशेष संवेदनशील मानिएको थियो। प्रतियोगिता अघि मात्र आणविक–सशस्त्र दुवै छिमेकीबिच सीमा क्षेत्रमा घातक झडप भएको थियो। त्यसमाथि खेलमै आक्रामक शैली र राजनीतिक संकेत देखिँदा तनाव बढेको थियो।

अन्त्यमा अघाले भने, 'यो पहिलो पटक देखिएको घटना हो। यदि यसरी नै चलिरह्यो भने भविष्यमा कहाँ पुग्छ भन्ने अनुमान गर्नै सकिँदैन। यो क्रिकेटका लागि राम्रो होइन।'

प्रकाशित: १३ आश्विन २०८२ १४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App