अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीमा अयातोल्लाह अलि खामेनी मारिएपछि इरानको शक्तिशाली ‘एक्सपर्ट एसेम्बली’ ले उनका छोरा मोज्तबा खामेनीलाई देशको नयाँ सर्वोच्च नेतामा निर्वाचित गरेको छ।
८८ जना मौलवीहरू सम्मिलित उक्त सभाले सुरक्षा संवेदनशीलताका कारण अनलाइन मतदानमार्फत मोज्तबालाई चयन गरेको विदेशी सञ्चारमाध्यमले जानकारी दिएका छन्। जानकारी अनुसार ५५ वर्षीय मोज्तबालाई उनका बुबाले सन् २०२४ मै आफ्नो उत्तराधिकारीका रूपमा अघि सारेका थिए।
उता, इरानमा नयाँ नेतृत्व आउने बित्तिकै इजरायलले कडा चेतावनी दिएको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले सामाजिक सञ्जाल एक्समार्फत मोज्तबा खामेनी पनि इजरायलको ‘उन्मूलनको निशाना’ मा रहने स्पष्ट पारेका छन्। उनले लेखेका छन्, ‘इरानी आतंककारी शासनले इजरायललाई ध्वस्त पार्ने र स्वतन्त्र विश्वलाई धम्की दिने योजनालाई निरन्तरता दिन नियुक्त गर्ने प्रत्येक नेतालाई सफाया गर्नु नै हाम्रो मुख्य लक्ष्य हुनेछ।’
नयाँ नेता मोज्तबा सन् २००९ मा इरानमा भएको विशाल विरोध प्रदर्शनलाई कठोरतापूर्वक दबाएपछि चर्चामा आएका थिए। उनलाई आफ्ना बुबा जत्तिकै इस्लामिक मामिलामा जानकार र कट्टरपन्थी विचारधाराको मानिन्छ। उनले पदभार ग्रहण गरेसँगै इजरायलले इरानका मिसाइल लन्चर र हतियार कारखानाहरूमा आक्रमण अझ तीव्र बनाएको छ।
मोज्तबालाई इरानको नयाँ सर्वोच्च नेता चयन गरिएको कुरा आधिकारिक रूपमा पुष्टि भएको छैन। मोज्तबालाई उत्तराधिकारीका रूपमा चुनेको भनी न्युयोर्क टाइम्स र इरान इन्टरनेशनल जस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दाबी गरेका छन्। तर इरानी सरकारी सञ्चारमाध्यमहरूले यसको औपचारिक घोषणा गरेका छैनन्। हाल इरानको शासन व्यवस्था राष्ट्रपति मसुद पेजेस्कियान सम्मिलित एक अन्तरिम काउन्सिलले सम्हालिरहेको छ। सरकारी निकायहरूले चयन प्रक्रिया अन्तिम चरणमा पुगेको र छिट्टै निर्णय सार्वजनिक गरिने बताइएको छ।
युद्धका कारण दुवैतर्फ मानवीय क्षति बढ्दै गएको छ। पछिल्लो चार दिनको लडाइँमा इरानमा करिब ८०० जनाको मृत्यु भइसकेको छ भने लेबनान र इजरायलमा पनि हताहती भएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको वर्तमान शासन व्यवस्था ‘भित्रैबाट’ परिवर्तन हुन सक्ने संकेत गर्दै इरानी जनतालाई आफ्नो सरकार अपदस्थ गर्न आग्रह गरेका छन्। यसैबिच, इरानले पनि इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी दूतावास तथा सैन्य अखडाहरूमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार गरी जवाफी कारबाही जारी राखेको छ। एजेन्सी
प्रकाशित: २० फाल्गुन २०८२ १४:०२ बुधबार





