भारत महिला टी-२० एसिया कपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार दुबईमा भएको सेमिफाइनलमा बंगलादेशलाई ४० रनले पराजित गर्दै भारतले लगातार छैटौँ पटक फाइनलमा स्थान बनाएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १४९ रन बनाएको थियो। भारतका लागि शेफाली वर्माले सर्वाधिक ६४ रन बनाइन्। उनले ४० बलमा आफ्नो अर्धशतक पूरा गर्दै भारतलाई चुनौतीपूर्ण योगफलतर्फ डोर्याइन्। शेफालीले खेलका क्रममा चार पटक जीवनदानसमेत पाएकी थिइन्।
त्यसपछि १५० रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो। सुरुवातमा जैुरिया फर्दुस र दिलारा अख्तरले सकारात्मक ब्याटिङ गरे पनि भारतीय स्पिनर आएपछि बंगलादेश दबाबमा परेको थियो।
भारतका लागि दीप्ति शर्माले प्रभावशाली बलिङ गर्दै दुई विकेट लिइन्। एन श्री चरणी र प्रेम रावतले पनि महत्वपूर्ण विकेट लिए। बंगलादेशको मध्यक्रमलाई भारतीय बलरले नियन्त्रणमा राखेपछि टोली लक्ष्यसम्म पुग्न सकेन।
यस जितसँगै भारत महिला टी-२० एसिया कपको सबै संस्करणमा फाइनल पुग्ने टोली बनेको छ। अब भारतले उपाधिका लागि अर्को सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित: २६ भाद्र २०८३ १०:१६ शुक्रबार



-600x400.jpg)

