११ आश्विन २०८३ आइतबार
image/svg+xml
खेल

भारत र वेस्ट इन्डिजबीच आजदेखि एकदिवसीय सिरिज, कोहली इतिहास बनाउने संघारमा

भारत र वेस्ट इन्डिजबीच तीन खेलको एकदिवसीय सिरिज आजदेखि सुरु हुँदैछ। सन् २०२७ मा हुने एकदिवसीय विश्वकपको तयारीका रूपमा लिइएको सिरिजको पहिलो खेल तिरुवनन्तपुरममा हुनेछ।

भारतले यस वर्ष खेलेका तीन एकदिवसीय सिरिजमध्ये दुईमा हार बेहोरेको छ। चोट तथा अन्य प्रतियोगिताका कारण भारतले आफ्नो पहिलो रोजाइको टोलीलाई निरन्तर खेलाउन सकेको छैन। हार्दिक पाण्ड्या र जसप्रित बुमराह यस सिरिजमा पनि छैनन्।

कप्तान शुभमन गिल भने नेट अभ्यासका क्रममा कुहिनोमा चोट लागे पनि खेलका लागि फिट भएका छन्। भारतको ब्याटिङमा रोहित शर्मा, विराट कोहली, ऋतुराज गायकवाड र केएल राहुल महत्वपूर्ण रहनेछन्। कोहली एकदिवसीय अन्तर्राष्ट्रिय अर्का एक रेकर्डको संघारमा रहेका छन्। उनी १५ हजार रन पूरा गर्नबाट ५९ रन टाढा छन्।

यता वेस्ट इन्डिजले भारतविरुद्ध द्विपक्षीय एकदिवसीय सिरिज पछिल्लो पटक सन् २००६ मा जितेको थियो। भारतमै भने उसले सन् २००२ यता भारतलाई सिरिजमा हराउन सकेको छैन।

वेस्ट इन्डिजका कप्तान साई होपको प्रदर्शनमा विशेष नजर रहनेछ। विश्वकपपछि उनले एकदिवसीयमा १ हजार ३५० रन बनाएका छन्। अल्जारी जोसेफ, म्याथ्यु फोर्ड र जेडन सिल्सले बलिङमा भारतलाई चुनौती दिनेछन्।

वेस्ट इन्डिजका शेर्फेन रदरफोर्ड व्यक्तिगत कारणले पहिलो खेलमा उपलब्ध हुने छैनन्। जोन क्याम्पबेल भने चोटको शल्यक्रियापछि टोलीमा फर्किएका छन्।

२०२७ को विश्वकपमा स्थान बनाउन वेस्ट इन्डिजले छनोट प्रतियोगिता पनि पार गर्नुपर्नेछ। त्यसैले भारतविरुद्धको तीन खेलको सिरिज दुवै टोलीका लागि आफ्नो संयोजन र कमजोरी परीक्षण गर्ने महत्वपूर्ण अवसर हुनेछ।

प्रकाशित: ११ आश्विन २०८३ ०८:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App