२ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

हार्दिक पाण्डेयले चोटका कारण अफगानिस्तानविरुद्धको एकदिवसीय शृंखला गुमाउने

भारतका स्टार अलराउन्डर हार्दिक पाण्डेय अफगानिस्तानविरुद्ध हुने एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखलाबाट बाहिरिने सम्भावना रहेको छ। प्रशिक्षणका क्रममा खुट्टामा चोट लागेपछि उनी शृंखला खेल्न नसक्ने अवस्थामा पुगेका हुन्।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को बेंगलुरुस्थित सेन्टर अफ एक्सिलेन्समा प्रशिक्षण गरिरहेका बेला हार्दिकको खुट्टाको मांसपेशीमा समस्या देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बीसीसीआईले अफगानिस्तानविरुद्धको ओडीआई शृंखलाका लागि हार्दिक र रोहित शर्मालाई टोलीमा समावेश गरेको थियो। यद्यपि दुवै खेलाडीको अन्तिम सहभागिता फिटनेस परीक्षणको नतिजामा निर्भर रहने बताइएको थियो। अफगानिस्तानविरुद्धको एक मात्र टेस्ट खेल समाप्त भएपछि उनीहरू चण्डीगढमा रहेको भारतीय टोलीमा सामेल हुने अपेक्षा गरिएको थियो।

हार्दिकको चोटको प्रकृति औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। बीसीसीआईका सचिव देभजित साइकियाले भने उनी पुनःस्थापना प्रक्रियाका लागि सेन्टर अफ एक्सिलेन्समा रहेको जानकारी दिएका छन्। टोलीमा यसअघि नै नितिसकुमार रेड्डी समावेश भइसकेका छन् भने हार्दिक शृंखलाबाट बाहिरिएको विषयमा बीसीसीआईले आधिकारिक घोषणा गर्न बाँकी छ।

हार्दिकले यस वर्षको आईपीएलमा ढाडको समस्याका कारण मुम्बई इन्डियन्सका १४ मध्ये १० खेल मात्र खेलेका थिए। केही खेल गुमाएपछि उनी मे २४ मा टोलीको अन्तिम खेलबाट मैदानमा फर्किएका थिए।

सन् २०२३ को एकदिवसीय विश्वकपका क्रममा बाँया खुट्टाको घुँडीनजिक चोट बोकेका हार्दिक अझै पनि सन् २०२७ मा विश्वकप क्रिकेटका लागि भारतको योजनाको महत्वपूर्ण हिस्सा मानिन्छन्। दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने उक्त विश्वकपलाई ध्यानमा राख्दै चयनकर्ताले उनलाई टी–२० टोलीमा नराखी एकदिवसीय क्रिकेटका लागि फिट राख्ने रणनीति अपनाएका छन्।

भारतीय टोलीका मुख्य चयनकर्ता अजित अगरकरले गत साता हार्दिकलाई एकदिवसीय क्रिकेटका लागि पूर्ण रूपमा तयार राख्नु नै प्राथमिक उद्देश्य रहेको बताएका थिए। उनले आवश्यक परे भविष्यमा टी–२० टोलीमा पुनः समावेश गर्न सकिने भएकाले हाल आराम र खेल व्यवस्थापनको नीति अपनाइएको स्पष्ट पारे।

प्रकाशित: २७ जेष्ठ २०८३ २०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App