नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजमाथि ८ विकेटको सानदार जित हासिल गरेको छ।
प्लेअफ दौडबाट बाहिरिइसकेका दुवै टोलीका लागि शनिबारको खेल प्रतिष्ठाको लडाइँ मात्र थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १ सय २१ रनको लक्ष्य पोखराले २ बल बाँकी छँदै १९.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
लक्ष्य पछ्याउने क्रममा पोखराका लागि ओपनर एडम रोसिङटनले उत्कृष्ट ब्याटिङ गरे। उनले ४८ बलको सामना गर्दै ४ चौका र ५ छक्काको मद्दतमा ६५ रनको अर्धशतकीय इनिङ्स खेले।
रोसिङटन र अर्का ओपनर अर्जुन कुमालबीच पहिलो विकेटका लागि १ सय रनको बलियो साझेदारी भएको थियो।
कुमालले संयमित ब्याटिङ गर्दै ५३ बलमा ४३ रन बनाएर अविजित रहे। कप्तान कुशल भुर्तेल ४ रनमा आउट हुँदा जेसन रोय ६ रनमा अविजित रहे।
बलिङतर्फ चितवनका रिजन ढकाल र सैफ जाइबले १–१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनाएको थियो। चितवनको सुरुवात निकै दयनीय रह्यो। इनिङ्सको २.१ ओभरभित्रै टिमले ७ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो।
सुरुवाती झड्कापछि देव खनालले ३५ रन र कप्तान कुशल मल्लले २३ रन बनाएर इनिङ्स सम्हाल्ने प्रयास गरे। अन्तिममा अल्केश रामजानीले २२ बलमा ३३ रनको आक्रामक अविजित इनिङ्स खेल्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याएका थिए।
बलिङमा पोखराका धनञ्जय लक्षणले ३.४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले समान १–१ विकेट हात पारे।
आजको यो नतिजाले शीर्ष चारको समीकरणमा भने कुनै प्रभाव पार्दैन। लुम्बिनी लायन्स ८ अंकसहित चौथो स्थानमा रहँदै यसअघि नै प्लेअफमा सुरक्षित भइसकेको छ।
आजको जितसँगै पोखरा एभेन्जर्सले ६ अंकका साथ पाँचौं स्थानमा रहँदै प्रतियोगिताको सुखद अन्त्य गरेको छ।
प्रकाशित: २० मंसिर २०८२ १८:३९ शनिबार





