३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

गुवाहटी टेस्ट: भारतमाथि घरेलु मैदानमै क्लिन स्वीपको खतरा

घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्ध दुई खेलको टेस्ट शृङ्खला खेलिरहेको भारतलाई ‘क्लिन स्वीप’को खतरा बढेको छ। गुवाहटीमा भइरहेको दोस्रो टेस्ट खेलको पहिलो इनिङमा २८८ रनको फराकिलो अन्तरले पछाडि परेपछि भारतमाथि क्लिन स्वीपको खतरा मडारिएको हो। 

यसअघि कोलकातामा भएको पहिलो टेस्ट खेल भारतले गुमाइसकेको थियो। 

तीन दिनअघि सुरु भएको गुवाहटी टेस्टमा दक्षिण अफ्रिकाका कप्तान टिम्बा बभुमाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि मैदानमा उत्रिएको दक्षिण अफ्रिकी टोलीले भारतीय मूलका ब्याटर सेनुरन मुत्तस्वामीको १०९ र मार्को यान्सनको ९३ रनको मद्दतले ४८९ रन जोडेको थियो। जसमा ट्रिस्टन स्टब्सले ४९, काइल भर्राइनले ४५, टिम्बा बभुमाले ४१, एइडेन मारक्रमले ३८ र र्यान रिकल्टनले ३५ रनको योगदान दिएका थिए। 

झन्डै दुई दिन ब्याटिङ गरेको दक्षिण अफ्रिकालाई अलआउट गर्न भारतीय बलरहरू कुलदीप यादवले ४, जसप्रिम बुमराह, मोहम्मद सिराज र रवीन्द्र जडेजाले २–२ विकेट लिएका थिए। 

त्यसपछि मैदानमा उत्रिएको भारतीय टोली २०१ रनमा अलआउट हुन पुग्यो। भारतका लागि यशस्वी जैसवालले ५८ रन र वासिन्टन सुन्दरले ४८ रन बनाउनुबाहेक अन्यले राम्रो योगदान दिन सकेनन्। 

दक्षिण अफ्रिकाका खेलाडी मार्को यान्सन बलिङमा पनि चम्किए। उनले एक्लै ६ विकेट लिँदा सिमोन हार्मरले ३ र केशव महाराजले एक विकेट लिए। 

पहिलो इनिङमा २८८ रनको अग्रता लिए पनि दक्षिण अफ्रिकी टोलीले भारतलाई ‘फलो अन’ भने दिएन। अहिले ब्याटिङमा आफै उत्रिएको छ। 

आज तेस्रो दिनको तेस्रो सेसनको खेल चलिरहेको छ। भोलि र पर्सी गरी ६ सेसनको खेल अझै बाँकी रहँदा जारी खेलमा भारत निकै दबाबमा पुगेको छ। 

यो खेल पनि गुमाए भारतले घरेलु श्रृंखलामा लज्जास्पद् क्लिन स्वीप बेहोर्ने छ। 

प्रकाशित: ८ मंसिर २०८२ १५:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App