ग्रिनविचले १०औँ अर्किड कप सेभेन ‘ए’ साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ। ग्रिनविचले बोधीसदनलाई १–० गोलले पराजित गर्यो। ग्रिनविचका दीक्षित थापाले निर्णायक गोल गरे।
काँडाघारीस्थित आयोजक अर्किडको मैदानमा भइरहेको प्रतियोगितामा ब्रह्मकुञ्ज, नेक्सस, श्रमशील र गेटवे एकेडेमीले सफलता पाए।
विश्वास गिरीको निर्णायक गोलमा ब्रह्मकुञ्जले उज्ज्वल तारालाई १–० गोलले हरायो। नेक्ससले चिरायुलाई १–० गोलले पाखा लगायो। नेक्ससका विराज दुगुले गोल गरे।
श्रमशीलले बेल पुष्पलाई ३–० गोलले पन्छायो। निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएको खेलमा गेटवेले टाइब्रेकरमा न्यु स्टार पोलमाथि ५–४ को जित दर्ता गर्यो।
४६ टिम सहभागी नकआउट प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रकाशित: ३ फाल्गुन २०८२ १०:३२ आइतबार




-600x400.jpg)
