जापानमा भएको २०औं एसियाली खेलकुदमा एक स्वर्णसहित दुई अंकको पदक जित्ने लक्ष्य राखेको नेपालको योजना असफल भएको छ। नेपालले दुईवटा मात्र कांस्य पदक जितेको छ।
नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव टंकलाल घिसिङसँग जापानमा आइतबार सम्पन्न २०औं एसियाली खेलकुदमा नेपालको प्रदर्शन र नतिजाबारे कुराकानी गरेका छौं। तीन वर्षअगाडि चीनमा आयोजना भएको १९औं संस्करणको एसियाली खेलकुदलगत्तै राखेपका पूर्वसदस्यसचिव घिसिङले मिसन २६ को नामबाट यो संस्करणको तयारी गरेका थिए। पहिलोपल्ट यति लामो तयारी भए पनि त्यो अपेक्षाअनुरूप किन नतिजा आएन भन्नेबारे नागरिक दैनिकका अनिल मल्ल ठकुरीले गरेको कुराकानी।
नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव र देशको टिम लिडर भएर पछिल्लो एसियाली खेलकुदमा पुग्नुभएको थियो। यसपल्ट फरक भूमिकाबाट यहाँ आउनुभएको छ। अनुभूति कस्तो हुँदो रहेछ?
नेपाली खेलकुदमा मेरो यात्रा रग्बी खेलबाट सुरु भएको हो। खेलकुदमा लामो यात्रा रग्बीबाट गरिरहेको छु। अहिले म एसिया रग्बीको उपाध्यक्ष छु। यस एसियन गेम्समा रग्बी खेल पनि समावेश छ। यही खेल आयोजनामा एसियाली खेल संघका पदाधिकारीका रूपमा समावेश हुँदा फरक अनुभूति हुने रहेछ। किनकि पछिल्लो संस्करण देशको टिम लिडर भएर समग्र नेपाली खेलकुदको जिम्मेवारी थिएँ। त्यसैले अहिले एसियाली खेलकुद मेरा लागि फरक र नौलो बन्यो।
पृष्ठभूमि फरक छ अहिले तर राखेपको पूर्वसदस्यसचिव हुनुहुन्थ्यो। त्यसैले हरेक खेलप्रति लगाव र नाता अहिले गाढा होला। कुनकुन खेल हेर्न पाउनुभयो?
जुन खेलमा जिम्मेवारी लिएर जापान आएको थिएँ। त्यसको प्रतिस्पर्धा अन्तिममा थियो। त्यसैले यहाँ ढिला मात्र आइपुगेँ। त्यसकारण सबै नेपाली खेलकुदको प्रतिस्पर्धा प्रत्यक्ष हेर्न पाइनँ। तथापि, गल्फमा सुवास तामाङको खेल नवौं होलसम्म हेरेँ। नवौं होलसम्म सँगसँगै गएर हेरेको थिएँ। उनले समग्रमा राम्रो खेलेका थिए। योबाहेक अन्य खेलबारे पनि जानकारी लिएँ। भौतिक रूपमा भए पनि नेपाली खेलाडीको टाइसिटदेखि प्रतिस्पर्धासम्म चासो राखेँ। लगानी बढाउन सके केही खेलले राम्रो सम्भावना देखाएका छन्।
१९औं एसियाली खेलकुद सकिएलगत्तै यो आयोजनाको तयारी थाल्नुभएको थियो। पहिलोपल्ट एउटा एसियाली खेलकुद सकिएलगत्तै अर्को आयोजनाका लागि तयारी सुरु गरिएको थियो। मिसन २०२६ को नाममा तयारी भयो र सुरुमा १० वटा खेलको त्यो प्रशिक्षण भएको थियो। त्यस अपेक्षाअनुरूप नतिजा आयो?
ओभरअलमा हेर्दा केही खेलमा सुधार आएको छ। त्योमध्ये एक खेल कराते हो। करातेमा सम्भावना देखेका थियौं। त्यो खेलका लागि लगानी पनि गरेका हौं। त्यसैले सात चुनौतीमध्ये करातेले पाँचवटामा पदकका लागि नै प्रतिस्पर्धा गर्यो। मिसन २६ नेपाली खेलकुदको सपना हो। किनकि पदक ल्याउने हो भने एउटा निश्चित र दीर्घकालीन योजनाबिना सम्भव थिएन। त्यसैले त्यसको सुरुआत गरेका थियौं। त्यहाँ स्टेप बाई स्टेप योजना बनाएका थियौं। एउटा विद्यार्थी विद्यालयमा भर्ना भएपछि पहिलो, दोस्रो र तेस्रो गरी एक वर्षभित्र परीक्षा दिनुपर्ने हुन्छ। त्यसका लागि निरन्तर एउटा योजना आवश्यक पर्छ। एउटा परीक्षाका लागि मात्र तयारी गरेर हुँदैनथ्यो। मिसन २६ का लागि पनि हामीले एउटा मात्र योजना थिएन।
लामो प्रशिक्षणसँगै एसियन गेम्सको ६ महिनाअगाडि अन्तर्राष्ट्रिय एक्सपोजर र हाइपर्फमेन्स ट्रेनिङ आवश्यक थियो। ती हाम्रा योजनामा थिए। तर, त्यो एक्सपोजर र वातावरण नपाउँदा पनि खेलाडीले राम्रो सम्भावना देखाए। सम्भावना नभएका खेललाई हटाएर सम्भावना भएको खेललाई समावेश गर्नुपर्दथ्यो। त्यो हुन सकेन।
इस्पोर्ट्स, एमएमए र सेपाक ताक्रो जस्ता खेललाई समावेश गरेको भए राम्रो हुन सक्थ्यो। चार वर्ष काम गर्दा यी खेलले राम्रो गरेका थिए। त्यो समावेश गरेको भए राम्रो हुन्थ्यो। अब यो कुरा गरेर काम छैन। तथापि अहिले सहभागी अन्य खेलका खेलाडीलाई पनि अबको अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न सुझाव दिन्छु।
तपाईको आशय एसियाली खेलकुदको संघारमा राम्रो तयारी भएन भन्ने हो?
अन्तिम तयारी हुँदा समयभित्र जति मात्र धक्का आवश्यक थियो त्यो पक्कै हुन सकेन। जेनजी आन्दोलनपछि बनेको सरकार र त्यसले तय गरेको निर्वाचनले एसियन गेम्सको तयारीमा रहेका खेलाडीको अभ्यास नै रोकिन पुग्यो। त्यो एकदम गलत काम भयो। थोरै समयका लागि मात्र प्रभावित भएन। चुनावको अगाडि रोकिएको तयारी सरकार बनेपछि करिब चार महिनासम्म प्रभावित भयो। जति बेला तयारी अन्तिम चरणमा थियो, त्यो प्रभावित हुनु राम्रो थिएन।
हामीले तयारी गरेको रोड म्यापमा प्रतियोगिताको मुखमा एक्सपोजर थियो। त्यसका लागि अन्तर्राष्ट्रिय टे«निङ र त्यो पनि एसियाभन्दा बाहिर जानु पर्दथ्यो। त्यो प्लानअनुरूप हुन सकेन। यो रिजनका प्रतिस्पर्धीहरूसँग हामीले अभ्यास गर्दा तयारी पुग्दैनथ्यो। त्यसैले एसियाभन्दा बाहिर जानुपर्दथ्यो, तर त्यो हुन सकेन। पदक जित्न सक्ने नेपालका खेललाई ओलम्पिक, विश्वकप र सिरिजमा राम्रो गर्ने टिमसँग खेल्ने वातावरण मिलाउनुपथ्र्याे। त्यसमा हामी चुक्यौं। तर, आगामी प्रतियोगितामा यी कुराहरूमा चुक्नु हुँदैन।
एक स्वर्णसहित दुई अंकको पदक जित्ने लक्ष्यसहित मिसन २६ को तयारी थाल्नुभएको थियो तर नतिजा फरक आयो। यो नतिजा देख्दा कस्तो महसुस भयो?
समग्रमा व्याख्या गरिसकेँ। अन्तिमको तयारीमा चुक्यौं भनिसकेँ। क्षमताको सबैको सीमा हुन्छ। हाम्रा प्रशिक्षक र खेलाडीमा भएको क्षमताको अधिकतम प्रयोग भएकै छ। उहाँहरूले आफ्नो उत्कृष्ट दिनुभएको छ। त्यो प्रतिभालाई अर्को वातावरण आवश्यक छ। खेलाडी र प्रशिक्षकको रिफ्रेसर आवश्यक छ। अहिले सबै बिग्रियो मात्र भन्नु हुँदैन। जे कुरामा चुक्यौं त्यसमा सुधार गरेर आगामी प्रतियोगिताका लागि तयारी गरिहाल्नुपर्छ।
अब छिट्टै ओलम्पिक हुँदै छ। सम्बन्धित खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै छ। त्यसका लागि सदैव तयार भइराख्नुपर्छ। बक्सिङ र उसुका अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा पदक जितेका खेलाडी एसियाली खेलकुदमा चुके। चार महिनाको ग्याप र अन्तिम समयमा एक्सपोजर हुन नसक्नु हो। त्यसमा अब ध्यान दिन आवश्यक छ।
अब दुई वर्षपछि ओलम्पिक हुँदै छ। त्यस अगाडि १४औं दक्षिण एसियाली खेलकुद (साग) यसै वर्ष हुँने तयारीमा छ। अब क गर्न आवश्यक छ?
हिजोको दिनमा लामो समयको तयारी थिएन। त्यसको सुरुआत गर्यो तर त्यो मात्र पर्याप्त छैन। हामीले अन्तिम तयारीका लागि उचित र आवश्यक लगानी बढाउनुपर्छ। खेलाडीको इच्छाशक्तिलाई पदकमा बदल्न सक्नुपर्छ। त्यसका लागि लगानी बढाउनै पर्छ। जे कुराले चुक्यौं। त्यसमा नै फोकस गर्यौं भने आगामी अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा राम्रो नतिजा ल्याउन सक्छौं। १९औं एसियाली खेलकुदलगत्तै २०औं संस्करणको तयारी गरेका थियौं। अब फेरि त्यसरी नै सुरुआत गर्न आवश्यक छ।
देशमा जस्तोसुकै अवस्था आए पनि देशको प्रतिष्ठा बढाउने खेलाडीको तयारी प्रभावित हुनु हुँदैन। फेरि केही समय चुप लागेर बस्यौं भने खेलाडीको वर्तमान क्षमतामा पनि ह्रास आउँछ। उनीहरू जुनसुकै समयमा तयार राख्नुपर्छ। हरेक च्याम्पियनसिपमा खेलाडीलाई पठायौं भने १४औं सागका लागि उनीहरूले राम्रो नतिजा दिन सक्छन्। हाइपर्फमेन्समा ध्यान दिएनौं भने हाम्रा लक्ष्य अपूरो हुनेछन्।
प्रकाशित: २१ आश्विन २०८३ ०८:०२ बुधबार



-600x400.jpg)

