३ श्रावण २०८३ आइतबार
image/svg+xml
खेल

विश्वकपमा पुस्ताको भिडन्त : अनुभवी रोनाल्डोले युवा यामालसँग प्रतिस्पर्धा गर्दै

पोर्चुगल र स्पेनबीच मंगलबार हुने विश्वकपको अन्तिम १६ को खेलमा सबैको ध्यान दुई फरक पुस्ताका खेलाडीमाथि रहनेछ।

एकातिर ४१ वर्षीय अनुभवी स्टार क्रिस्टियानो रोनाल्डो छन् भने अर्कोतिर १८ वर्षीय युवा प्रतिभा लामिन यामाल। यी दुईको भिडन्तलाई अनुभव र युवाशक्तिको प्रतिस्पर्धाका रूपमा हेरिएको छ।

यो खेल गत वर्षको युइएफए नेसन्स लिग फाइनल पछिको पुनः भेट पनि हो। उक्त फाइनलमा पोर्चुगलले पेनाल्टी सुटआउटमा स्पेनलाई हराएर उपाधि जितेको थियो। तर यसपटक स्पेन उत्कृष्ट लयमा भएकाले उसलाई बलियो दाबेदार मानिएको छ।

दुवै टोलीको यात्रा

पोर्चुगल समूह जेमा पाँच अंकसहित दोस्रो हुँदै नकआउट चरणमा पुगेको हो। टोलीले उज्बेकिस्तानलाई हरायो भने प्रजातान्त्रिक गणतन्त्र कंगो र कोलम्बियासँग बराबरी खेल्यो। त्यसपछि राउन्ड अफ ३२ मा क्रोएसियालाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो।

स्पेन भने समूह एचको विजेता बनेर अगाडि बढ्यो। उसले साउदी अरेबिया र उरुग्वेलाई हरायो भने केप भर्डेसँग गोलरहित बराबरी खेल्यो। त्यसपछि अस्ट्रियालाई ३–० ले हराउँदै अन्तिम १६ मा प्रवेश गर्‍यो। स्पेन पछिल्ला ३४ खेलदेखि अपराजित छ।

रोनाल्डोको ‘लास्ट डान्स’

४१ वर्षीय रोनाल्डोका लागि यो विश्वकप अन्तिम हुन सक्ने चर्चा छ। उनी अझै पनि पोर्चुगलका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक भए पनि उमेरसँगै उनको खेलमा परिवर्तन आएको देखिन्छ।

यदि पोर्चुगल यस खेलमा पराजित भयो भने रोनाल्डोको अन्तर्राष्ट्रिय करियर पनि समाप्त हुन सक्ने सम्भावना छ। 

प्रतियोगिताको दोस्रो सबैभन्दा जेठो खेलाडी रोनाल्डोको अबको यात्रा के हुन्छ भन्ने प्रश्नमा उनकी बहिनीले रोनाल्डोले यस विश्वकपबाट अवकाश लिने बताएकी थिइन्।

त्यसैले यो खेल उनका लागि निकै महत्वपूर्ण मानिएको छ।

स्पेनका आशा यामाल

स्पेनका १८ वर्षीय युवा स्टार लामिन यामाल उत्कृष्ट लयमा छन्।

सुरुवातमा चोटको चिन्ता रहेपनि उनले प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेका छन्। अस्ट्रियाविरुद्धको खेलमा उनी ‘म्यान अफ द म्याच’ बनेका थिए।

यामालले भनेका छन्, ‘हामी धेरै टाढासम्म पुग्न चाहन्छौं। हामी कुनै पनि टोलीसँग डराउँदैनौं। विश्वकप अब साँच्चै सुरु भएको छ।’

हालसम्म यामालले एक गोल गरेका छन् भने मिकेल ओयारजाबाल चार गोलसहित स्पेनका सर्वाधिक गोलकर्ता छन्।

स्पेन ३४ खेलमा अपराजित छ र २०१० मा दक्षिण अफ्रिकामा पहिलो पटक विश्वकप जितेको १६ वर्षपछि दोस्रो विश्वकप उपाधिको खोजीमा छ।

हेड–टु–हेड

विश्वकप र युरो जस्ता प्रमुख प्रतियोगितामा पोर्चुगल र स्पेन पाँच पटक आमनेसामने भएका छन्। दुवैले एक–एक खेल जितेका छन् भने तीन खेल बराबरीमा सकिएका छन्।

२०१८ को विश्वकपमा यी दुईबीच भएको ३–३ को रोमाञ्चक खेलमा रोनाल्डोले ह्याट्रिक गरेका थिए।

समग्रमा दुवै टोलीबीच ४१ खेल भएका छन्। स्पेनले १८ खेल जितेको छ भने पोर्चुगलले सात खेल आफ्नो पक्षमा पारेको छ। बाँकी १६ खेल बराबरीमा टुंगिएका छन्।

यस खेलको विजेताले जुलाई १० मा हुने क्वार्टरफाइनलमा अमेरिका वा बेल्जियममध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ। त्यसैले दुवै टोलीका लागि यो खेल विश्वकप यात्रालाई अगाडि बढाउने महत्वपूर्ण अवसर हुनेछ।

प्रकाशित: २२ असार २०८३ १५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App