फिफा विश्वकप फाइनलपछि स्पेनका लामिन यामालले आँसुमा डुबेका लियोनेल मेसीलाई अँगालो हाल्दाको दृश्यले भावुक बनायो। तर, त्यो क्षण एउटा युगको अन्त्य र अर्को युगको सुरुआतको प्रतीकजस्तै देखिन्थ्यो।
फुटबलको एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भइरहेको थियो। ३९ वर्षे मेसीले आफ्नो करियरमा सबै सफतला पाइसके भने यामलले सुरुआत गरे। स्पेनले फाइनलमा अर्जेन्टिनालाई १–० ले हराएपछि त्यसको सुरुआत भएको हो। न्यु जर्सी स्टेडियममा मेसी उपस्थित हजारौं अर्जेन्टिनी समर्थकतर्पm लामो समयसम्म टोलाइरहे। समर्थकहरू उनको नाम गुन्जाइरहेका थिए। सायद विश्वकपको मञ्चमा उनलाई यसरी अन्तिमपटक सम्मान गरिँदै थियो। त्यही क्षण संसारको नजर यामालले महान् अर्जेन्टिनी खेलाडीलाई सान्त्वना दिएकोमा पर्यो। त्यसपछि दुवै एकअर्काको अँगालोमा बाँधिए। बार्सिलोनाको नम्बर १० ले बार्सिलोनाकै सबैभन्दा महान् नम्बर १० लाई अँगालो हालेको क्षण पनि थियो त्यो।
यो दृश्यले सन् २००७ को त्यो ऐतिहासिक तस्बिरलाई फेरि सम्झाइदियो। जुन यसै विश्वकप फाइनलअघि भाइरल बनेको थियो। त्यस बेला २० वर्षे मेसीले ६ महिनाका शिशुलाई नुहाइरहेका थिए। ती शिशु लामिन यामाल नै हुन्। त्यो शिशु आज विश्वकप विजेता युवा बनेको छ। जसले कठिन क्षणमा मेसीलाई सान्त्वना दिए। मेसी सायद आफ्नो विश्वकप यात्राको अन्तिम अध्यायमा छन्। मेसीभन्दा दुई दशक कान्छा यामालको करियरको प्रारम्भिक चरणमा छ। तर अन्तर्राष्ट्रिय फुबलका दुई सबैभन्दा ठूला उपाधि भने उनले लगभग पूरा गरिसकेका छन्। युरो जितेको दुई वर्षपछि उनले अब विश्वकप पनि जितेका छन्। मेसीजस्तै बार्सिलोनाको उत्पादन यामाल पनि विश्वकपमा ह्यामस्ट्रिङ चोटको समस्यासहित आएका थिए।
विश्वकप सकिँदासम्म उनी १९ वर्ष ६ दिनको उमेरमा विश्वकप र युरो दुवै जित्ने सबैभन्दा कान्छा खेलाडी बने। यस निराशाजनक विश्वकप फाइनलको एउटा प्रमुख कथा यामालको प्रभाव र मेसीको संघर्ष पनि बन्यो। स्पेनका खेलाडीहरूले शुद्ध फुटबलमा विश्वास गरे, जसले यामाललाई चम्कन सहयोग गर्यो। अर्जेन्टिनाको उत्तेजक र टकरावपूर्ण रणनीतिले मेसीकै प्रतिभालाई सीमित बनाइदियो। त्यस रणनीतिबाट अर्जेन्टिनाले केही पाएन। वास्तवमा, त्यसले पाउनुपर्ने पनि त्यही थियो। स्पेन र यामाल प्रतियोगिताभर परिपक्व बन्दै गए। अन्ततः उनी विश्व फुटबलको शिखरमा पुगे। अतिरिक्त समयको १०६औं मिनेटमा फेरान टोरेसको गोलले स्पेनलाई दोस्रोपल्ट विश्व च्याम्पियन बनायो।
यामालले स्पेनका लागि खेलेका २८ प्रतिस्पर्धात्मक खेलमध्ये एउटामा पनि हार बेहोरेका छैनन्। ठूला प्रतियोगितामा उनले सुरुदेखि खेलेका १३ वटै खेल स्पेनले जितेको छ। प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा सुरुआती टोलीमा रहँदा शतप्रतिशत जित निकाल्ने युरोपेली खेलाडीमध्ये यो सबैभन्दा लामो शृंखला हो। अर्का किशोर सहकर्मी तथा १९ वर्षे पाउ कुबार्सीसँग मिलेर यामालले विश्वकप फाइनल खेल्दै उपाधि जित्ने चौथो र पाँचौं किशोर खेलाडीको कीर्तिमान पनि बनाए। यसअघि सन् १९५८ मा ब्राजिलका पेले, १९८२ मा इटालीका जुसेपे बेर्गोमी र २०१८ मा फ्रान्सका किलियन एम्बाप्पेले मात्र यो सफलता पाएका छन्। स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्तेले खेलपछि यामालप्रति आफ्नो ‘हार्दिक कृतज्ञता व्यक्त गरे।
यामाल असाधारण प्रतिभाका मात्र होइनन्, उनी असाधारण मानसिकताका खेलाडी पनि हुन्। अर्जेन्टिनाले उनलाई लगातार उक्साउने प्रयास गर्यो। अर्जेन्टिनाका निकोलस टालियाफिकोसँग उनको पटकपटक भिडन्त भयो। तर उनले कहिल्यै आफ्नो संयम गुमाएनन्। इङ्ल्यान्डका पूर्वगोलकिपर जो हार्टले पनि यामालको प्रंशसा गरे। ‘उनी सधैं शान्त रहे। यो साँच्चै असाधारण प्रदर्शन थियो। यामाल १९ वर्षका मात्र छन्। उनको लागि यो सुन्दर दिन हो। १९ वर्षमै उनले अन्तर्राष्ट्रिय फुटबलका सबै ठूला उपाधि जितिसके,’ उनले भने। कप्तान तथा यस विश्वकपका उत्कृष्ट खेलाडी रोड्रीजस्ता अनुभवी सहकर्मीको साथमा यामालले भविष्यमा यस्ता धेरै सफलताहरू दोहोर्याउने सम्भावना प्रबल देखिन्छ।
मेसीको आँसु
अर्जेन्टिनाको आफ्नै रणनीतिले मेसीको अन्तिम विश्वकप सपना तोड्यो। यामालको खुसीको ठीक विपरीत दृश्य मेसीको थियो। अन्तिम सिटी बज्नासाथ उनी अर्जेन्टिनी समर्थकतर्फ टोलाइरहे।
सायद उनलाई पनि महसुस भइरहेको थियो विश्वकपमा यति ठूलो सम्मान र प्रेम पाउने यो अन्तिम अवसर हुन सक्छ। अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी पनि अत्यन्त भावुक देखिए। पत्रकार सम्मेलनमै उनका आँखा रसाए र उनी बोल्नै सकेनन्। मेसीका लागि यो अन्तिम विश्वकप खेल थियो कि थिएन भन्ने प्रश्न सोधिँदा डिसेम्बरमा आफ्नो सम्झौता सकिने प्रसंगसँगै उनी भावुक बने। उनले मेसीसँग यसबारे कुनै कुरा नभएको बताए। त्यसपछि आँसु थाम्न नसकी पत्रकार सम्मेलन नै बिचमै छाडे। तर मेसीको अभियानलाई सबैभन्दा धेरै क्षति पुर्यायो अर्जेन्टिनाको खेलशैलीले। खेल सुरु भएदेखि नै अर्जेन्टिनाले भिडन्त र उक्साहटमा केन्द्रित रणनीति अपनायो। जसका कारण टोलीका प्रेरणा र कप्तान मेसी खेलभर लगभग निष्क्रिय बने। स्पेनको जित फुटबलको जित थियो।
किनभने अर्जेन्टिना सुरुदेखि नै फुटबलभन्दा अन्य कुरामा बढी केन्द्रित देखिन्थ्यो। स्लोभेनियाली रेफ्री स्लाभ्को भिन्चिचले पनि सुरुमै अर्जेन्टिनाप्रति निकै उदार व्यवहार देखाए, जसले विश्वकपभर अर्जेन्टिनाका विपक्षीहरूलाई असन्तुष्ट बनाएको थियो। एलेक्सिस म्याक एलिस्टरले डानी ओल्मोमाथि गरेको खराब ट्याकलमा सामान्य चेतावनी मात्र पाए। स्पेनका समर्थकहरूले व्यंग्यात्मक रूपमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नाम गुन्जाए। त्यो अर्जेन्टिनाको यात्रा रेफ्रीहरूको सहयोगमा सहज बनाइएको भन्ने षड्यन्त्र सिद्धान्तप्रति गरिएको व्यंग्य पनि थियो। अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेजले मिकेल ओयारजाबालमाथि फाउल गरेपछि पहिलो पहेंलो कार्ड पाउन खेलको ४० मिनेट लाग्यो।
त्यो निर्णयलाई पनि दर्शकहरूले व्यंग्यात्मक प्रतिक्रिया दिए। सेमिफाइनलमा इङ्ल्यान्डलाई पराजित गर्दादेखि नै अर्जेन्टिनाको उत्कृष्ट फुटबल हरायो। त्यसको स्थानमा खेल बिगार्ने रणनीतिले लियो। यस्तो शैलीले मेसीको प्रतिभालाई कुनै सहयोग पुर्याउन सकेन। मेसी स्वयम् पनि एक क्षणमा विवादमा तानिए। उनले स्पेनका मार्क कुकुरेलालाई हातले मुख छोपेर कुरा गरेको भन्दै रातो कार्ड दिनुपर्ने संकेत रेफ्रीलाई गरे। तर अर्जेन्टिनाको सबैभन्दा खराब क्षण अतिरिक्त समय सुरु हुनुअघि आयो। एन्जो फर्नान्डेजले बलतर्पm नहेरी पाउ कुबार्सीलाई लडाए। त्यो स्पष्ट रूपमा दोस्रो पहेंलो कार्ड योग्य फाउल थियो। अर्जेन्टिना विश्वकप फाइनलको ९० मिनेटमा एउटै पनि प्रहार गर्न नसक्ने विश्वकप इतिहासकै पहिलो टोली बन्यो।
अन्ततः ११७औं मिनेटमा मेसीले पहिलो प्रहार गरे पनि त्यो लक्ष्यभन्दा बाहिर गयो। स्पेनले लक्ष्यतर्पm १२ प्रहार गर्यो। तर, अर्जेन्टिनाले खेलभर एउटा पनि लक्ष्यमा प्रहार गर्न सकेन। अन्तिम सिटीपछि मेसीसहित अर्जेन्टिनी खेलाडी आँसुमा डुबे। तर त्यो दृश्य पनि सभ्य रूपमा समाप्त हुन सकेन। दुवै टोलीका खेलाडी र अफिसियलबीच धकेलाधकेल भयो। वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेपछि बारम्बार विवादमा परेका लिएन्ड्रो परेडेसले एरिक गार्सियाको घाँटी समाते। स्पेनका गाभीलाई जमिनमा लडाउने घटनामा पनि उनी संलग्न थिए। यति उत्कृष्ट विश्वकपको अन्त्य यस्ता अप्रिय दृश्यले हुनु दुर्भाग्यपूर्ण रह्यो। तर, मेसी र क्रिस्टियानो रोनाल्डोको युग सकिन लाग्दा विश्व फुटबलले यामालका रूपमा भविष्यका नयाँ सुपरस्टार भेट्टायो। यामालको युग धेरै वर्षसम्म जारी रहने संकेत स्पष्ट देखिन्छ।
प्रकाशित: ५ श्रावण २०८३ ०९:२० मंगलबार





