५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

टाईगर कप भलिबलको उपाधि गण्डकीलाई

पोखरामा भएको टाईगर कप भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । टाईगर ग्रुप पोखराले आयोजना गरेको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको छैटौं संस्करणको उपाधि गण्डकीले जितेको हो ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनल भिडन्तमा गण्डकीले बाजी मार्‍यो । गण्डकीले विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ को सेटले पराजित गर्दै उपाधि चुमेको हो । पहिलो सेट गुमाएको गण्डकीले खेलमा पुनरागमन (कमब्याक) गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । गण्डकीले पुलिसलाई २३–२५, २८–२६, २५–२२ र २५–१७ ले पराजित गर्दै उपाधि चुम्यो ।

उपाधि जितेको गण्डकीले नगद ६ लाख ६६ हजार ६६६ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्‍यो । पुलिस भने उपबिजेतामै सिमित बन्यो । उपबिजेता बनेको पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्‍यो ।

प्रतियोगितामा गण्डकी प्रदेशकै पर्वत जिल्ला भलिबल संघ तेस्रो बन्यो । शनिबार नै तेस्रो स्थानका लागि भएको खेलमा पर्वत भलिबलले विभागीय त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । तेस्रो भएको पर्वत भलिबल संघले नगद २ लाख ६ हजार ६६६ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्‍यो ।

प्रतियोगितामा गण्डकीका मुस्ताफा खान सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले २६ हजार ६६६ रुपैयाँसहित मेडल प्राप्त गरे । त्यस्तै, प्रतियोगिताकोसर्भरमा अद्नान खान, लिविरोमा भीमबहादुर गाहा, सेटरमा बलराम गुरुङ, ब्लकरमा फहद राज, स्पाइकरमा फकर वाट्टु, प्रशिक्षकमा रमेश केसी उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही ११ हजार १११ रुपैयाँसहित मेडल प्राप्त गरे ।

प्रतियोगिताको महिलातर्फको उपाधि भने न्यू डायमण्ड स्पोट्स क्लबले जितेको छ । शुक्रबारको खेलमा पुलिसलाई हराउँदै न्यु डायमण्डले उपाधि जितेको हो । महिलातर्फको खेलमा थाइल्याण्ड क्विन्स तेस्रो बन्यो । महिलातर्फको बिजेतालाई पनि पुरुष सरह नै पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित: १७ माघ २०८२ १९:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App