६ भाद्र २०८३ शनिबार
image/svg+xml
खेल

सिनसिनाटी ओपनमा चार अमेरिकी खेलाडी सेमिफाइनलमा

सिनसिनाटी ओपन टेनिस प्रतियोगितामा चार अमेरिकी खेलाडी सेमिफाइनलमा प्रवेश गरेका छन्।

पुरुषतर्फ फ्रान्सिस टियाफोए र ब्रान्डन नाकाशिमाले क्वार्टरफाइनलमा जित निकाल्दै अन्तिम चारमा स्थान बनाएका हुन्। महिला एकलतर्फ कोको गफ र जेसिका पेगुला पनि सेमिफाइनल पुगेपछि प्रतियोगितामा चार अमेरिकी खेलाडी अन्तिम चारमा पुगेका छन्।

टियाफोएले इटालीका लोरेन्जो मुसेत्तीलाई ७–६ (२), ७–५ को सेटमा पराजित गरे। यस्तै, नाकाशिमाले आफ्नै देशका टेलर फ्रिट्जलाई ७–६, ४–६, ६–३ ले हराए। नाकाशिमा र टियाफोएको जितसँगै सिनसिनाटीमा सन् २०१० पछि पहिलोपटक दुई अमेरिकी पुरुष खेलाडी सेमिफाइनलमा पुगेका छन्। सन् २०१० मा एन्डी रोडिक र मार्डी फिसले यस्तो सफलता हात पारेका थिए।

टियाफोएले यसअघि सन् २०२४ मा पनि सिनसिनाटी ओपनको फाइनल खेलेका थिए। त्यतिबेला उनी जानिक सिनरसँग पराजित भएका थिए। यसपटक उनले सेमिफाइनलमा अमेरिकी खेलाडी नाकाशिमाको सामना गर्नेछन्। अर्को पुरुष सेमिफाइनलमा इटालीका फ्लाभियो कोबोली र फ्रान्सका आर्थर फिल्सबीच प्रतिस्पर्धा हुनेछ।

महिला एकलतर्फ गफले युक्रेनकी मार्ता कोस्त्युकलाई ६–२, ६–२ ले पराजित गरिन्। अब उनले चेक गणतन्त्रकी २० वर्षीया सारा बेज्लेकसँग सेमिफाइनल खेल्नेछिन्। बेज्लेकले क्वार्टरफाइनलमा सन् २०१९ की च्याम्पियन म्याडिसन कीजलाई ३–६, ६–४, ७–६ (५) ले हराएकी थिइन्।

अर्को महिला सेमिफाइनलमा विश्व नम्बर तीन जेसिका पेगुलाले पाँचौँ वरीयताकी इगा स्वियातेकसँग प्रतिस्पर्धा गर्नेछिन्। गफले सिनसिनाटीमा चार अमेरिकी खेलाडीले सेमिफाइनल पुग्नु निकै राम्रो उपलब्धि भएको बताउँदै एकैपटक पुरुष र महिला दुवैतर्फ उपाधि जित्ने आशा व्यक्त गरेकी छन्।

प्रकाशित: ६ भाद्र २०८३ १२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App