६ भाद्र २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

निद्रा

लघुकथा

“नविना! तेरो घर त महल जस्तै छ रे, सुनचाँदी पनि प्रशस्तै छ भन्छन् नि?” सावित्रीले जिस्क्याई।

नविनाले हाँस्दै भनिन्, “हो, धन त छ तर निद्रा छैन।”

“किन? चोर लाग्ला भनेर?”

“चोरभन्दा आफ्नै मान्छेको डर लाग्छ। सम्पत्तिका कारण घरमा दिनहुँ झगडा हुन्छ। कसको नाममा के छ, कसले कति खर्च गर्‍यो - त्यही हिसाब!”

एकछिन दुवै जना र‍ोकिए।

आज तिजको दिन माइती गाउँको चौतारोको मेला लागेको थियो। सावित्री र नविना धेरै वर्षपछि भेटिएका थिए। दुवैको हातमा रातो चुरा, निधारमा रातो टीका र ओठमा पुरानै हाँसो थियो।

“मेरो घरमा सम्पत्ति त खासै छैन तर श्रीमान् र म मिलेर काम गर्छौं, खान्छौँ, हाँस्छौँ। कहिलेकाहीँ नुनसँग भात खाए पनि निद्रा मीठो लाग्छ।”

नविना मुस्कुराई, “त्यसो भए तँ मभन्दा धनी रहिछस्।”

"आफैंले आफूलाई गरिब नठान्नु नै धनी हुनु होइन र?” सावित्री पनि हाँस मुस्कुराई।

नविनाले सावित्रीलाई अँगालो हाल्दै भनिन्, “आज बुझें - धन भन्नु नै स्वास्थ तन र सफा मन रहेछ।”

सावित्रीले कानमा फुसफुसाइन्, “निद्रा पनि सम्पत्ति हो साथी।"

दिनेश निरौला  

प्रकाशित: ६ भाद्र २०८३ १२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App