क्रिकेटलाई किन सज्जनहरूको खेल भनिन्छ भन्ने कुराको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै ओमानका क्रिकेटर सुफियान महमुद र नेपालका युवा अलराउन्डर गुलशन झाले मैदानभित्रको तिक्ततालाई बिर्सेर मित्रताको सन्देश दिएका छन्।
बुधबार भएको खेल दौरान एकअर्काविरुद्ध आक्रामक देखिएका यी दुई खेलाडीले बिहीबार बिहान एकसाथ मुस्कुराउँदै फोटो खिचाएर सामाजिक संजालमा राख्दै उदाहरण प्रस्तुत गरेका हुन्।
बुधबार भएको खेलमा ओमानका बलर सुफियानले नेपालका ब्याट्सम्यान गुलशनलाई आउट गरेपछि मैदानमा दुईबीच केही तनावपूर्ण क्षण देखिएको थियो।
पछि ओमानी खेलाडी सुफियानले आफ्नो सामाजिक सञ्जालमा गुलशनसँगको तस्बिर सार्वजनिक गर्दै खेल सकिएपछि आपसी सम्मान नै सबैभन्दा ठूलो कुरा भएको सन्देश दिएका हुन्।
टिम होटेलमा ब्रेकफास्टको समयमा खिचिएको उक्त तस्बिरमा दुवै खेलाडी हाँसिरहेका देखिन्छन्।
सुफियानले सेयर गरेको तस्बिरले सामाजिक सञ्जालमा निकै प्रशंसा बटुलिरहेको छ।
समर्थकहरूले यसलाई खेलको साँचो सुन्दरता भन्दै दुवै खेलाडीको चरित्रको प्रशंसा गरेका छन्।
प्रकाशित: ३० आश्विन २०८२ ११:२५ बिहीबार





