२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
खेल

एसियन युथ बक्सिङमा अप्रिलको पहिलो जित

 नेपालका बक्सर अप्रिल रानाले थाइल्यान्डमा जारी एएसबिसी यु–२२ तथा युथ एसियाली बक्सिङ च्याम्पियनसिपमा पहिलो जित आत्मसात गरेका छन्।  

एसियाली बक्सिङ कन्फडेरेसन (एएसबिसी) को आयोजनामा बैंकक जारी बक्सिङ च्याम्पियनसिप शनिबार अप्रिलले ५० केजी तौलसमूहमा जित निकालेका हुन्। उनले साउदी अरबका युवा बक्सर इब्राहिमलाई ५–० अंकको आधारमा हराएको नेपाल बक्सिङ संघका अन्तर्राष्ट्रिय कोओर्डिनेटर श्यामकाजी अवालेले जानकारी दिए।

अब अप्रिलले सोमबार क्वार्टरफाइनलमा भुटानी मुक्केबाज किन्ले फुन्सोसँग प्रतिस्पर्धा गर्नेछन्। किन्ले पहिलो खेलमा बाइ पाएका थिए। अप्रिलले भुटानी बक्सरलाई पराजित गरेमा नेपालले कम्तीमा कांस्य पदक पक्का गर्नेछ। उनको प्रशिक्षकमा दीपक महर्जन छन्। आगामी सन् २०२६ मा जापानमा हुने २०औं एसियाली खेलकुदका लागि लक्षित नेपालले तयारी गरिरहेको छ।

त्यसका लागि मिसन–२६ मा रहेर पनि अप्रिलले प्रशिक्षण गरिरहेका छन्। अर्का नेपाली बक्सर सेरफ ग्याल्जेन शेर्पा र इन्द्रबहादुर सुनारको चुनौती भने समाप्त भइसकेको छ। गत अगष्ट १ तारिखमा भएको यु–१९ उमेरसमूहको ६० केजी तौलसमूहमा नेपालका सेरफको यात्रा पहिलो चरणमा नै समाप्त भएको थियो। उनी फिलिपिन्सका मुक्केवाजसँग आरएससीका आधारमा पराजित भए।

६० केजी तौलसमूहमा इन्द्रबहादुर उज्बेकिस्तानका बक्सर सोरु अब्दुमालिकोभसँग पराजित हुन पुगे। उनले तीन राउन्डसम्म प्रतिस्पर्धा गरेका थिए। अन्तत् उनी ५–० ले नतिजा सुम्पिन बाध्य भए। आइबिए थ्री स्टार प्रशिक्षक दीपक महर्जनको प्रशिक्षण चार युवा बक्सरले तयारी गरेका थिए। यस प्रतियोगितामा २५ राष्ट्रका पाँच सयभन्दा बढी बक्सरले प्रतिस्पर्धा गरिरहेको अवालेले जानकारी दिए।

प्रकाशित: १८ श्रावण २०८२ ०७:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App