उदयपुरको कटारी नगरपालिकामा ‘प्रथम कटारी मेयर रनिङ सिल्ड प्रतियोगिता ०८२’ सुरु भएको छ । बुधबार नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ र उपप्रमुख गीता कार्कीले संयुक्तरुपमा उद्घाटन गरेसँगै प्रतियोगिता सुरु भएको हो ।
स्थानीय टाईगर खेलमैदानमा सुरु प्रतियोगिता नगर खेलकुद विकास समितिको आयोजना र कटारी नगरपालिकाको प्रायोजनमा हुन लागेको हो । नगर खेलकुद विकास समिति अध्यक्ष दिपक राईका अनुसार आउँदो १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एथ्लेटिक्ससहित विभिन्न ६ प्रकारका खेलका फरकफरक इभेन्टमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
एथ्लेटिक्सका खेलबाहेक कराते, तेक्वान्दो, उसु, कबड्डी, रग्वी, भलिबल र चेसमा खेलाडी छात्रछात्राको स्पर्धा हुनेछ । प्रतियोगितामा नगरपालिकाका १४ वटै वडाका सामुदायिक तथा संस्थागत गरि २० वटा विद्यालयको सहभागिता रहने अध्यक्ष राईले बताएका छन् ।
विजेता विद्यालयले रनिङ सिल्ड, पदक र प्रमाणपत्र प्राप्त गर्नुका साथै जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डमा सहभागी हुन पाउनेछ । प्रतियोगितामा विजेता, उपविजेता, तेस्रो र सान्त्वना स्थापन पाउने विद्यालय तथा छात्रछात्रालाई स्वर्ण, रजत र काँश्य पदक वितरण गरिनेछ भने उत्कृष्ट खेलाडीलाई नगद तथा उपहार प्रदान गर्ने व्यवस्था रहेको पनि आयोजक समितिले जनाएको छ ।
प्रतियोगिता सुरु हुनुअघि सहभागी विद्यालयका छात्रछात्रा तथा खेलप्रेमीहरुले कटारी बजार परिक्रमा गरेका थिए । उद्घाटन गर्नुअघि खेल मैदानमा स्थानीय त्रिबेणी उच्च माध्यमिक विद्यालय कटारीका राष्ट्रिय सेवा दल (एनसीसी) तालिमरत विद्यार्थीको एक टुकडीले कवाज पिटी प्रदर्शन गरेको थियो ।
प्रतियोगिता उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठ र उपप्रमुख खड्का ।
प्रकाशित: १६ पुस २०८२ १६:३४ बुधबार





