२१ असार २०८३ आइतबार
image/svg+xml
खेल

फिफा विश्वकप : नेदरल्याण्ड्स र मोरक्को भिड्दै

फिफा विश्वकप अन्तर्गत राउन्ड अफ ३२ को खेलमा नेदरल्याण्ड्सले मोरक्कोको सामना गर्दैछ। मेक्सिकोको मोन्टेरी रंगशालामा हुन लागेको खेल नेपाली समयअनुसार मंगलबार बिहान ६ः४५ बजेबाट सुरु हुनेछ।

राम्रो लयमा रहेका दुई टोलीहरूलाई एकअर्का विरुद्ध खडा हुन लागेका छन्। दुवै टोलीले दुई जित र एक बराबरीसहित सात अंकका साथ समूह चरण समाप्त गरे।

नेदरल्याण्ड्सले समूह चरणमा जापानसँग २–२ को बराबरी खेलेको थियो। त्यसअघि स्वीडेनलाई ५–१ ले र ट्युनिसियालाई ३–१ ले हराएको थियो।

उता, मोरक्कोले पनि उत्कृष्ट प्रदर्शनका साथ सुरुवात गर्‍यो। टोलीले ब्राजिलसँग १–१ को बराबरी खेल्यो। त्यसपछि स्कटल्याण्डमाथि १–० र हाइटीमाथि ४–२ को जित हात पार्यो।

यस खेलको विजेताले अर्को चरणमा दक्षिण अफ्रिका विरुद्ध क्यानडाको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ। क्वार्टरफाइनलमा भने सम्भावित रूपमा फ्रान्स वा जर्मनी मध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।

नेदरल्याण्ड्स अफ्रिकी प्रतिद्वन्द्वी विरुद्ध विश्वकपका अघिल्ला छ खेलहरूमा अपराजित छ। टोलीले २०१०को विश्वकपमा फाइनल खेलेको थियो। सोहि लक्ष्यको साथ टोली मैदानमा प्रवेश गर्नेछ।

यस्तै, कतार विश्वकप २०२२ मा अन्तिम चारमा पुगेको मोरक्को यसपालि पनि आफ्नो होड नछोड्ने लक्ष्यमा छ।

नेदरल्याण्ड्सको सुरुआती–११

बार्ट भरब्रुगेन, डेन्जेल डम्फ्रिज, जन पॉल भ्यान हेके, भर्जिल भ्यान डाइक, मिकी भ्यान डे भेन, रायन ग्रेभेनबर्च, फ्रेन्की डे जोंग, तिज्जानी रेइन्डर्स, डोनयल मालेन, ब्रायन ब्रोबी, कोडी गाक्पो।

मोरक्कोको सुरुआती–११

यासिन बोनौ, अचरफ हाकिमी, इसा डाओप, चडी रियाद, नौसैर मजरौई, अय्युब बौद्दी, अज्जेदिन ओनाही, नील एल आयनाउई, ब्राहिम डियाज, इस्माइल साइबारी, बिलाल एल खनौस।

प्रकाशित: १५ असार २०८३ १८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App