दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।
अमेरिकाको लस एन्जलस रङ्गशालामा आज भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गोलअन्तरले पराजित गर्दै क्यानडा प्रिक्वार्टर फाइनलमा प्रवेश गरेको हो।
क्यानडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरे। उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक साबित भयो। यससँगै तेस्रो पटक विश्वकप खेलिरहेको क्यानडा पहिलो पटक अन्तिम १६ मा पुग्न सफल भएको हो। क्यानडा यसअघि समूह चरणबाटै बाहिरिएको थियो।
क्यानडा समूह ‘बी’ मा दोस्रो तथा दक्षिण अफ्रिका समूह ‘ए’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो।
प्रकाशित: १५ असार २०८३ ०६:२० सोमबार





