२०२६ फिफा विश्वकपका आयोजकहरूले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सुरक्षित’ नठानेका सहरबाट खेल सर्न सक्ने चिन्तालाई खारेज गरेका छन्।
राष्ट्रपति ट्रम्पले गत महिना भनेका थिए, ‘यदि डेमोक्र्याट नेतृत्वको सान फ्रान्सिस्को र सियाटलले मेरो आप्रवासन र अपराध नीतिमा सहयोग गरेनन् भने म खेल सार्ने कुरा विचार गर्नेछु।’
उनले यो हप्ता फेरि यो मुद्दा उठाए। यसपटक बोस्टन र त्यसका डेमोक्र्याट मेयर मिशेल वूलाई लक्षित गर्दै फिफाका प्रमुख जियानी इन्फान्टिनोलाई सिधै अपिल गर्न सक्ने धम्की उनको थियो।
क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने २०२६ विश्वकपको योजना बनाएका जोन क्रिस्टिकले यो करिब एक दशकदेखिको तयारी भन्दै राजनीतिक बयानबाजीबाट प्रभावित नहुने स्पष्ट गरेका छन्।
‘मैले देखेको कुराबाट तयारीमा कुनै अवरोध भएको छैन,’ प्लेफ्लाइ स्पोर्ट्स कन्सल्टिङका विश्वव्यापी कार्यक्रमका सह–प्रमुख क्रिस्टिकले भने, ‘टिकटहरू पहिल्यै बिक्री भइसकेका छन्। आतिथ्य प्याकेजहरू करिब एक वर्षदेखि बिक्रीमा छन्।’
फिफाका अनुसार बिहीबारसम्म १० लाखभन्दा बढी विश्वकप टिकट बिक्री भइसकेका छन्, जसमा २१२ देश र क्षेत्रका प्रशंसकहरूले सिट खरिद गरेका छन्। फिफाले यसअघि २०२६ विश्वकप खेल सार्ने वा नसार्ने निर्णय फुटबलको विश्वव्यापी प्रशासकीय निकायले गर्छ भनेको थियो।
‘सार्वजनिक सुरक्षाको हितमा के उपयुक्त छ, त्यो सरकारले निर्णय गर्छ,’ फिफाले भनेको छ, ‘हामी आशा गर्छौं कि हाम्रा १६ आयोजक सहरहरूले सफलतापूर्वक आयोजना गर्छन् र सबै आवश्यक मापदण्ड पूरा गर्छन्।’
२०१४ फिफा विश्वकप ब्राजिलका स्थानीय आयोजक समितिका सीईओ रिकार्डो ट्रेडले संयुक्त राज्य अमेरिकामा राम्रा प्रशस्त रंगशाला भएका कारण खेल स्थानान्तरणलाई ‘सम्भव’ बनाउन सक्ने बताएका थिए।
‘संयुक्त राज्य अमेरिका जस्तो देशमा, जहाँ हरेक राज्यमा ठूला र तयार रंगशालाहरू छन्, मलाई थाहा छैन किन यो सम्भव हुँदैन,’ ट्रेडले भने। उनले २०२४ को अमेरिकामा कोपा अमेरिकाको सीईओको रूपमा पनि काम गरेका थिए।
फाइनलसहित ८ खेलको जिम्मेवारी लिएका न्यूयोर्क र न्यू जर्सीले आफ्नो ध्यान त्यसतर्फ केन्द्रित गरेका छन्। एलेक्स लास्री २०२६ फिफा विश्वकपको लागि न्यूयोर्क/न्यू जर्सी आयोजक समितिका सीईओ हुन्।
‘हामीले फिफासँग कुरा गरेका छौँ, ह्वाइट हाउस टास्क फोर्ससँग काम गरिरहेका छौँ, मलाई लाग्छ खेल सर्ने कुनै चिन्ता छैन,’ लास्रीले भने, ‘मलाई कुनै चिन्ता छैन, तर यदि कसैले शिकागो वा अन्यत्रबाट खेल यहाँ सर्न चाहन्छ भने, हामी थप खेल पाउँदा उत्साहित हुनेछौँ।’ एजेन्सी
प्रकाशित: ३१ आश्विन २०८२ ०९:२५ शुक्रबार





