३१ श्रावण २०८३ आइतबार
image/svg+xml
खेल

फातिमा सना कप्तानमा फर्किइन्

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आइतबार महिला एसिया कप र एसियाली खेलकुदका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ। 

'द हन्ड्रेड' क्रिकेट प्रतियोगितामा सहभागिताका कारण श्रीलंकाविरुद्धको टी-२० शृंखला गुमाएकी फातिमा सना पुनः कप्तानका रूपमा टोलीमा फर्किएकी छन्। फातिमाले दुबईमा हुने महिला एसिया कप र जापानमा हुने एसियाली खेलकुदमा टोलीको नेतृत्व गर्नेछिन्।

महिला एसिया कपका लागि घोषित टोलीमा फातिमा सना, आयशा जफर, इमान नसीर, इमान फातिमा, गुल फिरोजा, मोमिना रियासत, मुनीबा अली सिद्दीकी, नजिहा अल्वी, नसरा सुन्धु, सादिया इकबाल, सायरा जबीन, शवाल जुल्फिकार, तुबा हसन, उम्म-ए-हानी र वहिदा अख्तर छन्।

त्यस्तै, एसियाली खेलकुदका लागि फातिमा सना, आलिया रियाज, आयशा जफर, इमान नसीर, इमान फातिमा, गुल फिरोजा, हुम्ना बिलाल, मोमिना रियासत, मुनीबा अली, नसरा सुन्धु, सायरा जबीन, शवाल जुल्फिकार, तस्मिया रुबाब, तुबा हसन र उम्म-ए-हानी समेटिएका छन्।

आईसीसीका अनुसार महिला एसिया कपको समूह ‘ए’ मा पाकिस्तानसँगै भारत, थाइल्याण्ड र हङकङ-चीन रहेका छन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने उक्त प्रतियोगिता अगस्ट २८ देखि सेप्टेम्बर १३ सम्म चल्नेछ। पाकिस्तानले सेप्टेम्बर १ मा थाइल्याण्डसँग खेल्दै आफ्नो अभियान सुरु गर्नेछ। त्यसपछि सेप्टेम्बर ५ मा भारत र सेप्टेम्बर ७ मा हङकङ-चीनसँग प्रतिस्पर्धा गर्नेछ।

एसियाली खेलकुद भने सेप्टेम्बर १७ देखि जापानको आइचीस्थित कोरोगी एथलेटिक पार्कमा सुरु हुनेछ। पाकिस्तानले सेप्टेम्बर १७ मा हुने क्वार्टरफाइनलमा थाइल्याण्डको सामना गर्नेछ। सेप्टेम्बर २० मा सेमिफाइनल र सेप्टेम्बर २२ मा पदकका लागि खेल हुनेछ। पाकिस्तानी महिला क्रिकेट टोलीले यसअघि २०१० र २०१४ को एसियाली खेलकुदमा स्वर्ण पदक जितेको थियो।

प्रकाशित: ३१ श्रावण २०८३ २१:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App