सुदूरपश्चिम प्रदेशका अधिकांश भू-भागमा मेघगर्जन र चट्याङसहित ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान कार्यालय र सुरक्षा निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार आज राति प्रदेशभर मौसम बदली रही पहाडी तथा तराई क्षेत्रका अधिकांश स्थानमा मध्यम वर्षा हुनेछ भने एक-दुई स्थानमा ‘धेरै भारी’ वर्षाको सम्भावना छ। हिमाली भेगका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षाको आकलन गरिएको छ।
भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनीले कैलाली र कञ्चनपुरका बाढी प्रभावित तथा नदी तटीय बस्तीहरूमा सचेतनामूलक माइकिङ सुरु गरेको छ।
बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले बाढी र पहिरोजन्य विपद् व्यवस्थापनका लागि मातहतका सबै युनिटहरूलाई आवश्यक उद्धार सामग्रीसहित ‘हाइअलर्ट’ मा राखिएको जानकारी दिए।
मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार सोमबार दिउँसो पनि सुदूरपश्चिमका हिमाली, पहाडी र तराई क्षेत्रका धेरै स्थानमा मध्यम तथा पहाडी र तराईका केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहने भएकाले नदी तटीय र भिरालो जमिन आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
प्रकाशित: ३१ श्रावण २०८३ २१:०५ आइतबार




