१६ कार्तिक २०८३ सोमबार
image/svg+xml
खेल

चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

चीनमा हुने ‘बेल्ट एन्ड रोड यु–१९ सिरिज’ मा सहभागी हुन जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आज यहाँ आयोजित कार्यक्रममा उक्त टोलीलाई बिदाइ गरेको हो।

त्यस अवसरमा क्यानका उपाध्यक्ष रोशन सिंहले आगामी वर्ष हुने आइसिसी यु–१९ महिला विश्वकपको तयारी स्वरूप नेपाली टोलीले चीनमा सिरिज खेल्न लागेको जानकारी दिए। खेलाडीले पर्याप्त अभ्यासको अवसर पाएकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै उनले खेलाडीलाई परिपक्व खेल प्रदर्शन गर्न सुझाव दिए।

टोलीका मुख्य प्रशिक्षक महेशप्रसाद रिजालले चीन भ्रमण खेलाडीका कमजोरी सुधार्ने र अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर भएको बताए। उक्त सिरिजले टोलीको समग्र क्षमता मूल्याङ्कन गर्दै आगामी प्रतियोगिताका लागि बलियो टोली निर्माण गर्न पनि सहयोग पुग्ने उनको भनाइ थियो।

टोलीकी कप्तान सोनी पाख्रिनले उक्त प्रतियोगिताका लागि आफूहरू पूर्ण तयारी रहेकाले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन्।

क्यानका अनुसार ‘बेल्ट एन्ड रोड सिरिज’ भोलिदेखि यही कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्याण्डको सहभागिता रहनेछ। नेपालले प्रतियोगितामा तीनवटै टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १६ कार्तिक २०८३ १३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App