१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

एभरेस्ट महिला भलिबल लिग: फाइनल अगाडिको फाइनल

एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणमा कर्णाली यशविस र ललितपुर क्विन्सबीच शुक्रबार प्रतिस्पर्धा हुँदा नतिजाले फाइनलका लागि खासै अर्थ थिएन। किनकि यस प्रतिस्पर्धाअगाडि नै दुवै टोली उपाधि भिडन्तका प्रतिस्पर्धी थिए।

तर, लिगको अन्तिम खेल जित्दै दुवै टोली लगातार दोस्रोपल्ट उपाधि भिडन्त गर्ने लक्ष्यमा थिए। एकातर्फबाट हेर्दा यो खेल शनिबार हुने फाइनलको रिहलसलजस्तै देखिन्थ्यो। तथापि, प्रतिस्पर्धा रोचक र प्रतिस्पर्धात्मक बन्यो।

खेलमा नाटकीय रूप पनि देखियो। निर्णायक फाइनलअगाडि नै दर्शकलाई पहिलो फाइनलकै झल्को दियो। जुन गत संस्करणको उपाधि भिडन्तजस्तै देखिन्थ्यो। सहज हारतर्फ उन्मुख मानिएको डिफेन्डिङ च्याम्पियन कर्णाली यशविसले उत्कृृष्ट पुनरागमन जित निकाल्यो। यो खेल ३–१ को सेटमा जित्दै कर्णाली लिगमा शीर्ष स्थानमा रह्यो। जेनजी आन्दोलनपछि दोस्र्रो संस्करण ६४ दिन प्रभावित भयो।

दुई महिनापछि विदेशी खेलाडीबिना नै लिग सुरु भएको हो। लिगमा शीर्ष स्थानमा रहेको ललितपुरका लागि विदेशी खेलाडीको अभाव खड्कियो। लिगमा फर्किएपछि ललितपुरले दुवै खेल हार हार्‍यो। लिग प्रभावित हुनुभन्दा अगाडि जोडेको ९ अंक नै पहिलो संस्करणको उपविजेतालाई फाइनलमा पुग्न पर्याप्त बन्यो।

ललितपुरले बुधबार पोखरा निन्जाससँग हार बेहार्दा प्रदर्शन पनि निकै खराब देखिन्थ्यो। फाइनलका लागि ललितपुर योग्य छैन कि भन्ने आशंका पनि देखिए। तर, शुक्रबार डिफेन्डिङ च्याम्पियन कर्णालीसँग प्रतिस्पर्धा गर्दा ललितपुरले सबै आशंका मेटाइदियो। पहिलो दुई सेटमा ललितपुरले राम्रो प्रदर्शन गर्‍यो तर दोस्रो सेटमा नाटकीय हारबाट खेलले नयाँ मोड लियो।

यो सेटमा ७ अंकको अग्रता जोगाउन नसक्नु नै ललितपुरका लागि घातक बन्यो। यही खेलमा भएको पुनरागमनबाट कर्णालीले उच्च आत्मबल बटुल्यो। पहिलो सेटमा जित र दोस्रो सेटमा पनि जितको संघारमा थियो, ललितपुर। पहिलो सेट २५–१७ ले सहजै आफ्नो बनाएको ललितपुर दोस्रो सेटमा पनि जितको संघारमा देखिन्थ्यो। दोस्रो सेटमा ललितपुरले २२–१५ ले अग्रता बनाइरहेको थियो।

ललितपुरको दबदबापछि कर्णालीका खेलाडीका आक्रमण लगातार निस्तेज देखिन्थे। तर, यो सेट नाटकीय बन्यो। कर्णालीले लगातार एकपछि अर्का अंक बटुल्यो। दोस्रो सेट उत्कृष्ट पुनरागमन गर्दै कर्णालीले २६–२४ ले आफ्नो बनायो। यही जितपछि कर्णाली उच्च आत्मबलका साथ खेल्यो।

यद्यपि, तेस्रो र चौथो सेट निकै प्रतिस्पर्धात्मक रहे। कर्णालीले तेस्रो सेट २५–२३ र चौथो सेट २७–२५ ले आफ्नो बनाउँदै अपराजित यात्रा कायमै राख्यो। कर्णालीको जितमा कप्तान सुमित्रा रेग्मी प्लेअर अफ दी म्याच भइन्। गत संस्करणमा ललितपुर क्विन्सलाई नै हराउँदै उपाधि जितेको कर्णालीले त्यो लय जारी राख्यो।

अब शनिबार फेरि कर्णाली र ललितपुर क्विन्सबीच नै प्रतिस्पर्धा हुँदै छ। डिफेन्डिङ च्याम्पियन कर्णाली आफ्नो लय जारी राख्दै उपाधि रक्षा गर्ने दाउमा हुनेछ। ६ टोली रहेको लिगमा कर्णाली पाँच खेलबाट १५ अंकसहित शीर्ष स्थानमा रह्यो। ललितपुर भने ९ अंकसहित दोस्रो स्थानमा सीमित भयो। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण यो लिग प्रभावित हुन पुगेको थियो।

पोखरामा सुरु भएको दोस्रो संस्करण ६४ दिनपछि काठमाडौंमा सुचारु गरिएको थियो।  विदेशी खेलाडीबिना सुचारु हुँदा ललितपुरका लागि ठूलो क्षति भयो। प्रभावित हुनुअघि शीर्ष स्थानमा रहेको ललितपुरले विदेशी खेलाडीबिना दुवै खेल गुमाउन पुग्यो। लगातार दुई हारपछि ललितपुरले फेरि कर्णालीसँग नै फाइनल खेल्दै छ।

काठमाडौं तेस्रो

काठमाडौं स्पाइकर्सले तेस्रो जितसँगै तेस्रो स्थानमा रहेर दोस्रो संस्करणको यात्रा टुङ्ग्याएको छ। शुक्रबार भएको लिगको आफ्नो अन्तिम खेलमा काठमाडौंले लुम्बिनी लाभासमाथि पुनरागमन जित निकाल्दै यस सिजन तेस्रो स्थानमा रहेर यात्रा टुङ्ग्यायो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको दिनको पहिलो खेलमा अरुणा शाहीको लुम्बिनी पहिलो दुई सेटमा जित निकाल्दै सहज जिततर्फ अग्रसर भयो। तर, काठमाडौंले उत्कृष्ट पुनरागमन गर्‍यो। उत्कृष्ट डिफेन्स गरेपछि काठमाडौंले त्यसपछिका तीन सेट लगातार आफ्नो बनायो। पहिलो दुई सेट निकै प्रतिस्पर्धात्मक रह्यो। तर, अरुणाको  कप्तानीमा रहेको लुम्बिनीले २५–२३ र २६–२४ ले आफ्नो बनायो। तेस्रो र चौथो सेट भने नाटकीय बन्यो।

उषा भण्डारीको कप्तानीमा रहेको काठमाडौंले डिफेन्स र स्पाइकमा पनि सुधार गर्‍यो। तेस्रो सेट काठमाडौंले २५–१७ ले सहजै आफ्नो बनायो। चौथो सेटमा पनि लुम्बिनी पूर्ण दबाबमा रह्यो। यो सेट काठमाडौंले २५–१६ ले सहजै आफ्नो बनाउँदै खेल निर्णायक सेटतर्फ धकेलियो। निर्णायक सेटमा पनि लुम्बिनीले झनै खराब प्रदर्शन गर्‍यो।

काठमाडौंले पाँचौं तथा निर्णायक सेट १५–६ ले सहजै आफ्नो बनाउँदै लुम्बिनीमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो। यससँगै लुम्बिनीले लिगमा चौथो स्थानमा रहेर दोस्रो संस्करणको यात्रा टुङ्ग्यायो। ६ टोली रहेको फ्रेन्चाइज लिगमा लुम्बिनी लाभासले सात खेलबाट सात अंक बटुल्यो। समान पाँच खेलबाट काठमाडौंले आठ अंक बटुल्यो।  

प्रकाशित: २९ कार्तिक २०८२ ०८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App