विदेशी खेलाडीबिना पनि लय जारी राख्दै कर्णाली यशविसले लगातार चौथो जितसँगै एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फाइनलमा स्थान बनाएको छ।
जेनजी आन्दोलनका कारण प्रभावित फ्रेन्चाइज महिला भलिबल लिग विदेशी खेलाडी बिना नै काठमाडौंमा बुधबारबाट सुचारु भयो तर, विदेशी खेलाडीबिना पनि कर्णाली लय जारी राख्दै एक खेलअगावै लगातार दोस्रोपल्ट फाइनलमा पुग्यो। दोस्रो स्थानको ललितपुर क्विन्स भने विदेशी खेलाडीबिना निकै कमजोर देखियो।
आयोजक इनफिनिटी ड्रिम्स प्रालिले दुई महिना प्रभावित लिग विदेशी खेलाडीबिना नै सुचारु भयो। डिफेन्डिङ च्याम्पियन कर्णाली यशविसले मधेस युनाइटेडलाई ३–० को सोझो सेटमा नै हराउँदै लय जारी राख्यो। तर, लिगमा पुनरागमन गरेको ललितपुर क्विन्सका लागि भने सुखद रहेन। खराब प्रदर्शन गर्दै ललितपुर पोखरा निन्जाससँग ३–० को सोझो सेटमा नतिजा गुमाउन पुग्यो।
पोखराले भने लिगमा पहिलो जित निकाल्यो। स्पाइक र डिफेन्समा उत्कृष्ट देखिएको पोखरा दोस्रो स्थानमा रहेको ललितपुर क्विन्समाथि पूर्ण हाबी भयो। जितका बावजुद पोखराको फाइनलमा पुग्ने सम्भावना भने छैन तर पोखरा चार खेलबाट पहिलो जित र तीन हारसहित चार अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ।
अब पोखरा निन्जासले लिगको अन्तिम खेल काठमाडौं स्पाइकर्ससँग खेल्नेछ। यो खेलमा जित निकाले पनि पोखरालाई फाइनलमा पुग्न पर्याप्त हुने छैन। यसअघि पोखरामा लिग भए पनि आन्दोलनपछि आयोजक इनफिनिटी ड्रिम्स प्रालिले गत भदौ २४ गते लिग स्थगित गरेको थियो। त्यसको ६४ दिनपछि आयोजना काठमाडौंमा आयोजना भयो। यद्यपि, विदेशी खेलाडीबिना नै।
यो निर्णयले फाइनलनजिक रहेको ललितपुरका लागि सहज भएन तर जितविहीन पोखराका लागि भने सुखद रह्यो। विदेशी खेलाडीबिना नै सुचारु लिगमा कर्णालीले भने आफ्नो लय जारी राख्दै जित निकाल्यो। सुमित्रा रेग्मीको कप्तानीमा रहेको कर्णालीले दुई महिनापछि पनि उत्कृष्ट प्रदर्शन गर्यो।
निरूता ठगुन्नाको कप्तानीको मधेस युनाइटेडका लागि पनि सहज रहेन। मधेसले कर्णालीसँग ३–० सोझो सेटमा नतिजा सुम्पिँदा फाइनलमा पुग्ने सम्भावना समाप्त भयो। ६ वटा फ्रेन्चाइज टोली रहेको लिगमा कर्णालीले चार खेलबाट १२ अंक बटुल्यो। त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जित निकाल्दै मधेस शीर्ष दुईमा रहेर फाइनलमा पुग्न चाहन्थ्यो।
तर हारसँगै मधेसको अब फाइनलमा पुग्ने सम्भावना सकियो। अब मधेसले लुम्बिनी लाभाससँग लिगको अन्तिम खेल खेल्नेछ। यो खेल जिते मधेसका लागि फाइनलमा पुग्न पर्याप्त हुने छैन। चार खेलबाट मधेसले एक जित र तीन हारसहित तीन अंक जोड्दै पाँचौं स्थानमा छ। अब काठमाडौं स्पाइकर र ललितपुर क्विन्सको मात्र फाइनलमा पुग्ने सम्भावना छ।
काठमाडौंले बिहीबार पोखरामाथि जित निकाले फाइनल सम्भावनाका लागि ललितपुरको अन्तिम खेल कुर्नुपर्नेछ तर हार सामना गरेमा भने ललितपुर एक खेलअगावै फाइनलमा पुग्नेछ। त्यसअघि मधेशले सुरुआती अंक बटुल्दै खेलमा राम्रो प्रदर्शन गर्ने संकेत गरेको थियो। तर, फितलो डिफेन्स सामना गरेपछि मधेस निराशापूर्ण नतिजा सामना गर्न बाध्य भयो।
कर्णालीका कप्तान सुमित्रा र सफिया पुनले उत्कृष्ट प्रदर्शन गरे। यी दुईले मधेसकी कप्तान निरुताको स्पाइक लगातार ब्लक गर्दै चल्नै दिएनन्। मधेसका आशा गरिएका खेलाडी आरती सुवेदी र कोपिला रानाले पनि स्वाभाविक प्रदर्शन गर्न सकेनन्। यससँगै कर्णालीले मधेसमाथि २५–१५, २५–१२ र २५–१७ ले सहज जित निकाल्यो र चौथो खेलमा पनि अपराजित यात्रा कायमै राखेको छ । कर्णालीको जितमा सफिया पुन प्लेयर अफ दी म्याच घोषित भइन्।
पोखराको पहिलो जित
पोखरा निन्जासले एभरेस्ट महिला भलिबल लिगमा पहिलो जित निकालेको छ। राखेपको कभर्डहलमा बुधबार सम्पन्न दिनको दोस्रो खेलमा पोखराले ललितपुर क्विन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। पहिलो सेटमा ललितपुरले कडा चुनौती दियो तर पोखराले यो सेट २५–२२ आफ्नो बनाउँदै आत्मबल बटुल्यो। पोखराले दोस्रो सेट २५–१३ ले सहजै आफ्नो पक्षमा पार्यो।
पोखराले तेस्रो सेटमा पनि २५–२० ले आफ्नो बनाउँदै पहिलो जितको स्वाद चाख्यो। पहिलो जितसँगै पोखराले चार खेलबाट चार अंक छ। समान खेलबाट ९ अंक रहेको ललितपुरले भने फाइनल प्रवेशको लागि अर्को खेल कुर्नुपर्नेछ। पोखरामा भएको यसअघिका तीनै खेलमा पोखरा पराजित भएको थियो।
प्रकाशित: २७ कार्तिक २०८२ ०६:२४ बिहीबार





