नेपाली खेलकुदमा ऐतिहासिक पदक दिलाउन सफल करातेकी एरिका गुरुङ नगद पुरस्कारसहित सम्मानित भएकी छन्।
नेपाल कराते महासंघले आइतबार पत्रकार सम्मेलन मार्फत नेपाली खेलकुद र करातेकी सबैभन्दा सफल खेलाडी एरिकालाई नगद दुई लाख रुपैयाँसहित सम्मान गरेको हो। उनको नाममा नेपाली करातेमा ऐतिहासिक पदकहरू जोडिएका छन्। उनै एरिका नेपाल खेलकुद पत्रकार मञ्चमा आयोजित एक कार्यक्रमका बीच सम्मानित भएकी हुन्।
नेपाल कराते महासंघ अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले एरिकालाई दुई लाख बराबरको चेक र सम्मानपत्र हस्तान्तरण गरे। एरिकाले गत जेठ १९ गते मोरक्कोमा सम्पन्न विश्व कराते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी थिइन्। यो पदक नेपाली करातेमा ऐतिहासिक र पहिलो हो।
यसै सफलताका कारण महासंघले उनलाई सम्मान गरेको हो। उक्त सम्मान कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका कराते प्रशिक्षक मन्डेकाजी श्रेष्ठ पनि उपस्थित थिए। विश्व कराते महासंघका उत्कृष्ट ३२ खेलाडीले मात्र खेल्न पाउने प्रिमियर लिगमा एरिकाले कांस्य पदक जितेकी हुन्।
एरिकाले कांस्य पदक भिडन्तमा फ्रान्सकी खेलाडीलाई हराउँदै ऐतिहासिक कांस्य जितेकी थिइन्। एरिकाले फ्रेन्च खेलाडी क्लेमेन्स पिएलाई हराउँदै सो सफलता पाएकी हुन्। यो कराते लिग विश्वकै सबैभन्दा प्रतिष्ठित प्रतिस्पर्धा हो। एरिका विश्वको उत्कृष्ट ३२ को सूचीमा थिइनन्। कुनै खेलाडीले नाम फिर्ता लिँदा यसमा सहभागी हुन पाइन्छ।
एरिकाको प्रशिक्षण टोलीले पनि अवसर पाइन्छ कि भनेर उनको नाम दर्ता गरेको थियो। अन्तिम समयमा विश्व कराते महसंघले एरिकाको सहभागिता पक्का गरिदियो र उनले ऐतिहासिक पदक पनि दिलाइन्। सन् २०११ देखि सुरु भएको यो प्रतियोगितामा एरिकाले प्रशिक्षक बिना नै खेले पनि सफलता पाएकी हुन्। सोही सफलताका कारण महासंघले उनलाई आइतबार सम्मान गरेको हो।
एरिकालाई थप प्रोत्साहन गर्ने उद्देश्यअनुरूप उनलाई सम्मान गरिएको महासंघले जनाएको छ। कुनै पनि नेपाली खेलाडीले यो च्याम्पियनसिपमा पहिलोपल्ट पदक जितेको हो। यसबाहेक उनीसँग अन्य कीर्तिमान पनि छ। उनले चीनको झाङझाउमा हुने १९औं एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन्।
एरिकाको पदक नेपाली खेलकुदमा अहिलेसम्मकै ठूलो सफलतामध्ये एक हो । यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ मा र नेपालको पुरुष पाराग्लाइडिङ टोलीले सन् २०१८ को एसियाली खेलकुदमा रजत पदक जितेका छन् । त्यसपछि यो सफलता एरिकाले दोहोर्याएकी हुन्।
एरिकाले चीनमा नै सम्पन्न एकेएफ सिनियर कराते च्याम्पियनसिपमा पनि पदक जितेकी छन्। त्यसबाहेक एरिकाले थाइल्यान्ड ओपन, अमेरिका ओपन र १६औं एसियन सितोरियो प्यासिफिकमा पनि स्वर्ण पदक जितेकी छन्। नेपाली खेलकुदमा एकपछि अर्को सफलता दिलाएकी एरिकालाई महासंघले सम्मान गर्र्दै प्रोत्साहन गरेको छ।
प्रकाशित: २३ भाद्र २०८२ ०८:१० सोमबार




