जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गत असार महिनामा विभिन्न अपराधसँग सम्बन्धित १३५ मुद्दा दर्ता भएकोमा ७७ फर्छ्यौट भएका छन्।
अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ विभिन्न २३ शीर्षकमा भएका अपराध दर्ताका मुद्दामध्ये सबैभन्दा बढी अभद्र व्यवहारसम्बन्धी रहेकोमा सो मुद्दा शतप्रतिशत फर्छ्यौट भएको छ। त्यस्तै लागुऔषधसम्बन्धी २५ मुद्दा सबै फर्छ्यौट भएका छन्।
असार महिनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ विभिन्न ४३ उजुरी परेकोमा ३५ फर्छ्यौट भएको सूचना अधिकारी प्रनाउ माधवप्रसाद काफ्लेले जानकारी दिए।
यस अवधिमा घरेलु हिंसातर्फ ३६ उजुरी परेकोमा १९ मिलापत्र गराइएको भने तीन अदालत पठाइएको छ। असार महिनामा हराएका १७ महिलामध्ये १३ फेला परेका छन् भने छ पुरुषमध्ये तीन फेला परेका छन्। त्यस्तै १५ बालबालिका हराएकोमा १४ जना भेटिएका छन्।
कार्यालयमा आएका १४६ ठाडो उजुरीमध्ये १४० फर्छ्यौट भएको र जिल्ला प्रशासन कार्यालयबाट आएका १६ उजुरीमध्ये ११ फर्छ्यौट भएको प्रहरीले जनाएको छ। रासस
प्रकाशित: ५ श्रावण २०८३ ०७:३२ मंगलबार





