गोरखाको सिरानचोक गाउँपालिका-२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक ब्याक भएर सडकबाट खस्दा चालकसहित पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।
चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००२ ज ७६८८ नम्बरको ट्याक्सी बिहान करिब ११:३० बजे कच्ची सडक किनारमा रोकिराखेको अवस्थामा अचानक पछाडि सरेर करिब ४० मिटर तल खसेको हो। घाइते सबैलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको छ।
दुर्घटनामा सिरानचोक गाउँपालिका-२ मैपते बस्ने ३२ वर्षीया मञ्जु परियार र ५० वर्षीया गीतामाया परियार गम्भीर घाइते भएका छन्। गीतामायाको टाउकोमा भित्री चोट लाग्नुका साथै छाती र दायाँ खुट्टामा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहे पनि चोट गम्भीर प्रकृतिको रहेको छ।
त्यस्तै, सोही ठाउँकी अन्दाजी २० वर्षीया अञ्जना अछामी र ३० वर्षीया गीता परियार मध्यम घाइते भएका छन्। ट्याक्सी चालक सिरानचोक गाउँपालिका-५ भाँगे बस्ने ४० वर्षीय वीरबहादुर गुरुङको अवस्था भने सामान्य छ।
दुर्घटनाको खबर पाएलगत्तै अस्थायी प्रहरी पोस्ट चित्रेपोखरीबाट प्रहरी हवल्दार होमबहादुर रानाको कमान्डमा तीन जनाको टोली घटनास्थलमा पुगेको थियो।
घटनास्थल चित्रेपोखरी प्रहरी पोस्टबाट करिब सात किलोमिटर उत्तरमा पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २५ कार्तिक २०८३ १४:५२ बुधबार





