२७ असार २०८३ शनिबार
image/svg+xml
खेल

बराबरीको प्रतिस्पर्धा

 इङ्ल्यान्डले ६० वर्षदेखिको विश्वकप उपाधि खडेरी अन्त्य गर्न शनिबार मियामीमा नर्वेका गोल मेसिन एर्लिङ हालान्डको चुनौती सामना गर्दै  छ।

सेमिफाइनल प्रवेश गर्ने लक्ष्यसहित हालान्डाको नर्वे र इङ्ल्यान्ड शनिबार राति अमेरिकाको मियामी सहरमा क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दै छन्। तथ्यांक विश्लेषण गर्ने संस्था अप्टाको सुपरकम्प्युटरले यस विश्वकपका चारवटै क्वार्टरफाइनलमध्ये यही खेललाई सबैभन्दा प्रतिस्पर्धात्मक र बराबरीको भिडन्त मानेको छ। त्यसैले हालान्डको नर्वे र केनको इङ्ल्यान्डबीचको खेलमा उत्कृष्ट फुटबल देखिन सक्छ। मेक्सिको सिटीमा घरेलु समर्थकको उत्साहपूर्ण दबाब पार गर्दै इङ्ल्यान्ड क्वार्टरफाइनलमा पुगेको हो। त्यो इङ्ल्यान्डका लागि विश्वकप इतिहासकै उत्कृष्ट खेलमध्ये एक मानिएको छ। दक्षिण फ्लोरिडामा हुने यस खेलमा इङ्ल्यान्डलाई सेमिफाइनल पुग्ने प्रमुख दाबेदारका रूपमा हेरिएको छ। उत्कृष्ट लयमा रहेका ह्यारी केन र जुड बेलिङ्घमको प्रदर्शनले इङ्ल्यान्डको आत्मविश्वास झन् बढाएको छ। तर इङ्ल्यान्डको रक्षापंक्तिको कमजोरीलाई हालान्डले कडा परीक्षा दिन सक्छन्।

हालान्डले अन्तिम १६ मा ब्राजिलविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै प्रमाणित पनि गरिसकेका छन्। आफ्नो पहिलो विश्वकपमा हालान्डले चार खेलबाट सात गोल पूरा गरेका छन्। संगठित फुटबल खेल्दै आएको इङ्ल्यान्डलाई पार गर्न नर्वेका लागि पनि सहज हुने छैन। इङ्ल्यान्डमै जन्मिएका र क्लब फुटबलमा म्यानचेस्टर सिटीबाट खेल्ने हालान्डले भने आफ्नो टोलीमाथि कुनै दबाब नरहेको बताए। ‘स्पष्ट रूपमा केही टोली उपाधिका बलिया दाबेदार छन्, इङ्ल्यान्ड तीमध्ये एक हो,’ उनले पत्रकार सम्मेलनमा भने, ‘मेरो विचारमा सबै दबाब इङ्ल्यान्डका खेलाडीमाथि हुनुपर्छ।’

२८ वर्षपछि पहिलोपल्ट विश्वकपमा पुगेको नर्वेले क्वार्टरफाइनलसम्म पुग्दै यसलाई यादगार बनाइसकेको छ। त्यसैले पनि उसले गुमाउनुपर्ने केही छैन।

किनकि करिब ५० लाख जनसंख्या भएको नर्वेले विश्वकपमा अपेक्षाभन्दा निकै उत्कृष्ट प्रदर्शन गरेको छ। अमेरिका प्रस्थान गर्नुअघि नै टोलीका खेलाडीहरू भाइकिङ पोसाकमा सजिएका थिए। लामो भाइकिङ जहाजअगाडि उभिएको सामूहिक तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो। त्यही भाइकिङ भावना विश्वकपभर कायम छ। प्रत्येक जितपछि अमेरिकाका रंगशालादेखि न्युयोर्कको टाइम्स स्क्वायर र ओस्लोका सडकसम्म समर्थकहरूले ‘भाइकिङ रो’ (डुंगा चलाउने शैलीको उत्सव) मनाउँदै आएका छन्। हरेक देशमा रहेका नर्वेको दूतावासले पनि त्यही शैलीको उत्सव मनाइरहेको छ। ब्राजिलविरुद्ध अन्तिम समयमा दुई गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाएका हालान्डले नै उक्त उत्सवको नेतृत्व गरेका थिए।

त्यस जितसँगै नर्वे इतिहासमै पहिलोपल्ट विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो। ‘ब्राजिलविरुद्ध खेल्नु नै हामी नर्वेलीका लागि अविश्वसनीय अनुभव थियो,’ हालान्डले भने,‘ब्राजिललाई हराएर अमेरिकामा विश्वकपको क्वार्टरफाइनलमा इङ्ल्यान्डसँग खेल्न पाउनु साँच्चै विशेष कुरा हो। तपाईंहरूले नर्वेका दृश्यहरू हेर्नुभयो  ? यो हाम्रो देशका लागि सामान्य अवस्था होइन। त्यसैले यो क्षण अत्यन्तै विशेष छ।’

क्वान्साह प्रतिबन्धमा

इङ्ल्यान्ड लगातार तेस्रो विश्वकपमा क्वार्टरफाइनल खेल्दै छ। तर त्यसका लागि टोलीले निकै कठिन परीक्षा पार गर्नुपरेको थियो। मुख्य प्रशिक्षक थोमस टुचेलको टोलीले मेक्सिको सिटीमा १० खेलाडीमा सीमित रहँदै दोस्रो हाफमा विपक्षीको तीव्र दबाब झेलेर ३–२ को रोमाञ्चक जित निकालेको थियो।

उक्त जितलाई विदेशी भूमिमा इङ्ल्यान्डको विश्वकप इतिहासकै उत्कृष्ट जितमध्ये एक मानिएको छ। १९६६ यता कुनै पनि ठूलो प्रतियोगिताको उपाधि जित्न नसकेको इङ्ल्यान्डको यो पुस्ताले त्यो खडेरी अन्त्य गर्ने विश्वास लिइएको छ। तर, इङ्ल्यान्डको इतिहास राम्रो हुन सकेको छैन। पछिल्ला दुई युरोपियन च्याम्पियनसिपको फाइनलमा इङ्लिस टोली पराजित हुन पुगेको थियो।

पछिल्ला दुई विश्वकपमध्ये एकमा सेमिफाइनल र अर्कोमा क्वार्टरफाइनलसम्म पुगेको टोली हो, इङ्ल्यान्ड। ‘यस अवस्थामा पहिले पनि धेरै पटक पुगेका छौं। तर खेलकै दिन उत्कृष्ट प्रदर्शन गर्ने टोली नै विजेता बन्छ। त्यसबारे पूर्ण रूपमा सचेत छौं र हाम्रो सम्पूर्ण ध्यान त्यही कुरामा केन्द्रित छ,’ इङ्ल्यान्डका विंगर बुकायो साकाले भने। बेलिङ्म र केन इङ्ल्यान्डको सफलताका मुख्य आधार बनेका हुन्। रियाल मड्रिडका मिडफिल्डर बेलिङ्घम र बायर्न म्युनिखका स्ट्राइकर केनले यस विश्वकपमा इङ्ल्यान्डका ११ मध्ये १० गोलमा योगदान दिएका छन्। तर इङ्ल्यान्डको समस्या रक्षापंक्तिमा देखिएको छ। जुन अन्तिम १६ मा रातो कार्ड पाएपछि जारेल क्वान्साहलाई दुई खेलको प्रतिबन्ध लागेपछि झन् गम्भीर बनेको छ।

रिसे जेम्स अनुपस्थित रहँदा क्वान्साहले आफ्नो स्वाभाविक स्थानभन्दा फरक राइट ब्याकमा खेल्दै आएका थिए। तर जेम्स अझै पनि ह्यामस्ट्रिङ चोटबाट पूर्ण रूपमा फिट नभएकाले शनिबारको खेल खेल्ने सम्भावना अनिश्चित छ। यस कारण प्रशिक्षक टुचेलले रक्षापंक्तिमा फेरबदल गर्नुपर्ने अवस्था आउन सक्छ। एज्री कोन्सालाई राइट ब्याकमा सार्दै जोन स्टोन्सलाई सेन्टर ब्याकमा उतार्नुपर्ने सम्भावना पनि छ। दुवै टोलीका लागि अर्को ठूलो चुनौती मियामीको अत्यधिक गर्मी हुनेछ। इङ्ल्यान्डले हालसम्म खेलेका पाँचमध्ये तीन खेल वर्षाका बीच खेल्नुप¥यो। बाँकी दुई खेल एटलान्टा र डलासका वातानुकूलित रंगशालामा थिए। त्यसैले मियामीको अत्यधिक गर्मी र मौसमले यसपटक उनीहरूको शारीरिक क्षमता र सहनशीलताको वास्तविक परीक्षा लिने अपेक्षा गरिएको छ।

अप्टाले खेलअघि सञ्चालन गरेका २५ हजार सिमुलेसनमध्ये इङ्ल्यान्ड ६२.३ प्रतिशत अवस्थामा सेमिफाइनल पुग्ने अनुमान गरिएको छ। जसमा नर्वेको ३७.७ प्रतिशत मात्र देखिन्छ। नर्वेका लागि यो पूर्ण रूपमा नयाँ अनुभव हो। टोली आफ्नो इतिहासमै पहिलो पटक कुनै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। तर अन्तिम १६ मा विश्वकप इतिहासकै सबैभन्दा सफल टोली ब्राजिललाई हराएर नर्वेले आफू बलियो प्रतिस्पर्धी भएको प्रमाण दिइसकेको छ। हालसम्म नर्वेले एक खेलबाहेक सबै खेल जितेको छ। समूह चरणको तेस्रो खेलमा प्रशिक्षकले सुरुआती टोलीमा १० परिवर्तन गरेका कारण नर्वे प्रमुख दाबेदार फ्रान्ससँग पराजित हुन पुग्यो। नर्वे र इङ्ल्यान्ड यसअघि १२ पटक आमनेसामने भएका छन्।

दुवै टोलीबिचको पछिल्लो भेट सेप्टेम्बर २०१४ मा भएको मैत्रीपूर्ण खेल थियो, जहाँ इङ्ल्यान्ड १–० ले विजयी भएको थियो। समग्र हेड टु हेड तथ्यांकमा नर्वेले १२ मध्ये केवल दुई खेल जितेको छ। अझ पछिल्ला चार भेटमा नर्वेले इङ्ल्यान्डविरुद्ध एक गोल पनि गर्न सकेको छैन। विश्वकपको नकआउट चरणमा युरोपेली टोलीविरुद्ध इङ्ल्यान्डको पछिल्लो इतिहास भने उत्साहजनक देखिँदैन। युरोपेली प्रतिद्वन्द्वीविरुद्ध पछिल्ला ६ नकआउट खेलमध्ये पाँचमा इङ्ल्यान्ड पराजित भएको छ। लगातार पछिल्ला तीन नकआउट खेलमा पनि इङ्ल्यान्डले युरोपेली टोलीसँग हार बेहोरेको छ। सन् २०२२ को विश्वकप क्वार्टरफाइनलमा फ्रान्ससँग २–१ ले पराजित हुनु इङ्ल्यान्डको पछिल्लो यस्तो हार हो।

नर्वेले पनि विश्वकपमा युरोपेली टोलीविरुद्ध सफलता हासिल गर्न सकेको छैन। युरोपेली राष्ट्रविरुद्ध खेलेका सबै ६ विश्वकप खेलमा नर्वेले एक पनि जित्न सकेको छैन। तीमध्ये दुई खेल बराबरीमा सकिएका छन् भने चार खेलमा हार बेहोरेको छ। युरोपेली टोलीविरुद्ध नकआउट चरणमा नर्वेले खेलेका दुवै खेल पनि गुमाएको छ। सन् १९३८ मा इटालीसँग २–१ र सन् १९९८ मा फेरि इटालीसँग १–० ले पराजित हुँदै नर्वे प्रतियोगिताबाट बाहिरिएको थियो।  

प्रकाशित: २७ असार २०८३ १०:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App