विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को प्रतिबन्ध पूर्ण रूपमा फुकुवा गरेको छ।
आर्थिक अपारदर्शिता र सुशासनको अभाव देखाउँदै करिब साढे तीन वर्षअघि लगाइएको उक्त प्रतिबन्ध हटेसँगै एन्फाले अब फिफाबाट प्राप्त हुने अनुदान सिधै परिचालन गर्न पाउनेछ।
एन्फाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटीले बिहीबार उक्त निर्णय गरेको औपचारिक जानकारी दिएको हो।
फिफाले सन् २०२१ मार्च १५ देखि एन्फालाई ‘कन्ट्रोल फन्डिङ’ मा राखेको थियो। जसअन्तर्गत फिफाले प्रदान गर्ने आर्थिक सहयोगमाथि प्रत्यक्ष नियन्त्रण र नियमन गर्दै आएको थियो।
एन्फाका महासचिव किरण राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा वर्तमान कार्यसमितिले आर्थिक सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त संघ बनाउन गरेका प्रयासहरूको प्रतिफल स्वरूप यो सफलता मिलेको उल्लेख छ।
‘वर्तमान नेतृत्वले पाएको विरासत र चुनौतीलाई चिर्दै सम्पूर्ण कार्यसमिति, सदस्य संघ तथा सरोकारवालाहरूको सामूहिक प्रयासबाट यो सुखद परिणाम हासिल भएको हो,’ विज्ञप्तिमा भनिएको छ।
यसैगरी, एन्फाले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै ‘फिफा फरवार्ड गोल्ड लेभल फर एएफसी मेम्बर एसोसिएसन अफ द इयर (गोल्ड) अवार्ड २०२४’ समेत जितेको छ।


प्रकाशित: २८ असार २०८२ १५:०५ शनिबार





