दोस्रो काठमाडौं-१० वडा अध्यक्ष कप राष्ट्रिय खुला रेपिड चेस प्रतियोगितामा र खोटाङका धिरेन राईले उपाधि जितेका छन् ।
स्विस लिग प्रणालीमा नौ चरणमा आयोजना भएको सो प्रतियोगितामा धिरेनले ८ दशमलव ५ अङ्क जोडे । झापाका ज्वाला लिम्बूले ८ अङ्कसहित दोस्रो स्थान पाए । मकवानपुरका क्षितिज भण्डारी ७ दशमलव ५ अङ्कसहित तेस्रो भए । समान अङ्क भएका भक्तपुरका निकेन कुसाथा चौथो भए । यस्तै रौतहटका सुमन लामा पाँचौँ तथा राजेन्द्रप्रसाद श्रेष्ठ छैटौँ भए ।
दुई दिने प्रतियोगितामा ७ अङ्क भएका रिसन थापा, मिसन दाहाल, शैलेन्द्र न्यौपाने र प्रकाश चन्द्र नेपाल शीर्ष १० स्थानमा रहे ।
काठमाडौं महानगरपालिका-१० को आयोजनामा नयाँ बानेश्वरमा भएको प्रतियोगितामा २ सय २० खेलाडीको सहभागिता थियो । प्रतियोगिताको उपाधि बिजेताले २६ हजार २ सय ५० तथा उपबिजेताले २२ हजार ५ सय रुपैयाँ पुरस्कार पाए ।

तेस्रो हुनेले १८ हजार तथा चौथो हुनेले ११ हजार २ सय ५० रुपैयाँ पुरस्कार पाए । पाँचौँदेखि १० औ स्थान पाउनेले ७ हजार ५ सय रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताका बिजेता खेलाडीलाई आयोजक वडाका अध्यक्ष रामकुमार केसी, सचिव सुबोध खड्का तथा प्रतियोगिता निर्देशक इन्द्रकुमार बस्नेत लगायतले पुरस्कार प्रदान गरे ।
पुरस्कार वितरण समारोहमा बस्नेतले प्रतियोगिताले नेपाली बुद्धिचाललाई नयाँ आयाम दिने विश्वास रहेको बताए । काठमाडौंमा बसोबास गर्दै आएका दोलखाका बस्नेत लामो समयदेखि नेपाली चेस खेलको विकासमा सक्रिय छन् । काठमाडौं महानगरपालिका –१० को आयोजनामा भएको प्रतियोगितामा थापाथली पार्क चेस क्लबले प्राविधिक सहयोग गरेको हो ।
प्रकाशित: ११ आश्विन २०८३ १८:१५ आइतबार





