२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

पिएसजी र राष्ट्रिय टोलीबिचको तनावमा डेसच्याम्प्सको मलम

उस्माने डेम्बेले र डेजायर डौए घाइते भएपछि फ्रान्सको राष्ट्रिय टोली र पेरिस सेन्ट जर्मेन (पिएसजी) बीच उत्पन्न तनावबारे प्रशिक्षक डिडियर डेसच्याम्प्सले शान्त पार्ने प्रयास गरेका छन् ।

अन्तर्राष्ट्रिय खेलका क्रममा युरोपियन च्याम्पियन फ्रान्सका स्टार उस्माने र डेजार घाइते भएका थिए । यसपछि पिएसजी र राष्ट्रिय टोलीबीच विवाद उत्पन्न भइरहेको छ । फ्रान्सेली टोलीका प्रशिक्षक डिडियरले यसबारे प्रस्ट्याउँदै विवादलाई शान्त पार्ने प्रयास गरेका हुन् । गत संस्करणको सर्वाधिक गोलकर्ता डेम्बेले बालोन डिओरको प्रमुख दाबेदारमध्ये एक हुन् । गत शुक्रबार विश्वकप छनोटमा युक्रेनविरुद्ध २–० को जित निकाल्दा उनलाई चोट लागेको थियो । यससँगै डेम्बेले करिब ६ देखि ८ हप्तासम्म खेल्न  नसक्ने उल्लेख गरिएको छ । सोही खेलमा घाइते भएका डौए एक महिनासम्म मैदान बाहिर रहने अनुमान गरिएको छ । यी दुवै खेलाडी पिएसजीका स्टार हुन् ।

पिएसजी यस सिजन च्याम्पियन्स लिगको उपाधिको रक्षा गर्न तयारी छ । तर, दुई स्टार खेलाडी लामो समय मैदान बाहिर रहने भएपछि पिएसजीलाई ठूलो झट्का लागेको छ । क्लबले आइतबार पे्रmन्च फुटबल फेडेरेसन (एफएफएफ) लाई पत्र लेख्दै क्लब र राष्ट्रिय टिमबीच थप पारदर्शी र सहयोगात्मक समन्वय प्रोटोकल लागू गर्न आग्रह गरेको छ ।  जुलाईमा क्लब विश्वकपको फाइनलसम्म पुगेपछि पिएसजीको टोलीले खेलाडीलाई छोटो समयमा बिदा दिएको थियो । खेलाडीहरूले कति कार्यभार बहन गर्न सक्छन् भनेर क्लबले एफएफएफलाई ठोस चिकित्सा जानकारी प्रदान गरेको उल्लेख छ । तर, राष्ट्रिय टोलीले क्लबको सिफारिस बेवास्ता गरेको दाबी गरेका छन् । 

डेसच्याम्प्सले भने फ्रान्सेली टोलीको चिकित्सा स्टाफले यसबारे अनुसन्धान गरेको दाबी गरेका छन् । ‘प्रत्येक खेलाडीले कस्तो महसुस गरिरहेको छ भन्ने कुरालाई ध्यानमा राखेका थियौं । सबै खेलाडीहरूसँग गर्ने प्रक्रिया पूरा गरेका छौं । हामीले व्यावसायिक काम पूरा गरेर नै खेलाएका हौं,’उनले भने । यद्यपि, डेसच्याम्प्सले कोही खेलाडीले देशका लागि खेल्ने भावना देखाउँछ भने त्यो महत्वपूर्ण पक्ष हुने उल्लेख गरे । ‘यद्यपि खेलाडीहरू खेल्न उत्सुक छन् । त्यो भावना सधैं हाम्रो लागि एक महत्वपूर्ण हुन्छ,‘फ्रान्सेली डेसच्याम्प्सले भने । मंगलबार पिएसजीको पार्क डेस प्रिन्स स्टेडियममा फ्रान्सले आइसल्यान्डको स्वागत गर्दै छ ।

त्यसअघि प्रशिक्षकले क्लब र राष्ट्रिय टोलीबीच बढेको दूरीलाई शान्त पार्ने प्रयास गरेका हुन् । ‘पिएसजी हाम्रो प्रतिद्वन्द्वी होइन र कहिल्यै हुने पनि छैन । यद्यपि हाम्रो लक्ष्यहरू कहिलेकाहिँ फरक दिशामा जान्छ र त्यो सामान्य प्रक्रिया हो,’उनले भने । डेसच्याम्प्सले आफूहरूको प्रतिद्वन्द्वी आइसल्यान्ड रहेको पनि उल्लेख गरेका छन् । ‘एउटा बाधको अर्को छेउमा म बसेको छु । हाम्रो एकमात्र प्रतिद्वन्द्वी आइसल्यान्ड हो,‘डेसच्याम्प्सले भने । उनले टिम र क्लबहरूबीच सधैं सूचना आदानप्रदान हुन्छ भन्ने कुरामा जोड पनि दिए । उनले म्यानचेस्टर सिटीका रायान चेर्की र आर्सनलका डिफेन्डर विलियम सालिबाको उदाहरण दिएका छन् । यी दुवै खेलाडी चोटमा छन् ।

डेसच्याम्प्सले उनीहरूबारे थप मूल्यांकन भएपछि फ्रान्सेली टिमको प्रशिक्षणमा आउन आवश्यक छैन भनेको उल्लेख गरेका छन् । तर, उनीहरूको नाम राष्ट्रिय टोलीमा भने समावेश थियो । ‘ती खेलाडी घाइते छन् भन्ने थाहा छ । त्यसैले मैले उनीहरूलाई बोलाएको थिइनँ । किनकि हाम्रो टोलीको चिक्सिकलाई उनीहरूको स्क्यानको इमेज पठाइएको थियो,‘प्रशिक्षकले भने । एएफपी

प्रकाशित: २४ भाद्र २०८२ ०८:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App