भारत र श्रीलंकामा जारी आइसिसी टी ट्वान्टी विश्वकपमा निराशाजनक प्रदर्शनपछि पाकिस्तान क्रिकेटमा विवाद उत्पन्न भएको छ।
विश्वकपबाट बाहिरिएलगत्तै पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले प्रत्येक खेलाडीलाई ५० लाख पाकिस्तानी रुपैयाँ जरिवाना गर्ने निर्णय गरेपछि विवाद सुरु भएको हो। पाकिस्तानी पूर्वब्याटर अहमद शहजादले बोर्डको उक्त निर्णयको खुलेर आलोचना गरेका छन्। उनले सबै खेलाडीलाई एउटै मापदण्डमा राखेर दण्ड दिनु न्यायोचित नभएको धारणा राखे।
सलमान अली आगा कप्तानीको पाकिस्तान सेमिफाइनलमा पुग्न असफल भयो। समूह ‘ए’ मा भएको खेलमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको थियो। त्यसपछि सुपर आठमा इङ्ल्यान्डसँग दुई विकेटले पराजित हुँदै पाकिस्तान विश्वकपबाट बाहिरिन पुग्यो।
श्रीलंकालाई १४७ रनको योगफलभित्र रोक्दा सेमिफाइनलमा पुग्ने भए पनि पाकिस्तान असफल भयो। टोली बाहिरिएपछि केही दिनमै पिसिबीले प्रत्येक खेलाडीलाई ५० लाख रुपैयाँ जरिवाना गर्ने सार्वजनिक भयो तर शहजादले उक्त कदमलाई भावनात्मक प्रतिक्रिया मात्र भएको टिप्पणी गरेका छन्। उनका अनुसार केही खेलाडीले राम्रो प्रदर्शन गरे पनि उनीहरूलाई पनि समान रूपमा दण्डित गरिएको छ, जुन उचित होइन। उस्मान तारिक, अबरार अहमद र साहिबजादा फरहानको नाम उल्लेख गर्दै शहजादले टोलीको समग्र असफलतामा उनीहरूको व्यक्तिगत दोष नरहेको दाबी गरेका छन्। उनले यति ठूलो जरिवाना सबैका लागि व्यावहारिक नहुने उल्लेख गरे।
जिम्मेवारी खेलाडीमा मात्र सीमित नराखी व्यवस्थापन तहबाट पनि सुरु हुनुपर्ने उनको भनाइ छ। मुख्य छनोटकर्ता अलिम दार, असद सफिक, हसन चिमा, वहाब रियाज, मुख्य प्रशिक्षक माइक हेसन र कप्तान सलमानमध्ये कसले जिम्मेवारी लिने भन्ने उनले प्रश्न उठाए। शहजादले पाकिस्तान क्रिकेटको आर्थिक संरचनामाथि पनि प्रश्न गरेका छन्।
पिसिबीले केन्द्रीय सम्झौताअन्तर्गत खेलाडीलाई प्रतिमहिना ४६ लाख रुपैयाँसम्म तलब दिनु प्रदर्शनअनुसार न्यायोचित नहुने पूर्वब्याटर अहमद शहजादको भनाइ छ। मासिक तलब तीनदेखि चार वर्षको निरन्तर प्रदर्शनका आधारमा १० लाख रुपैयाँमा सीमित गरिनुपर्ने उनको सुझाव छ।
उनले पाकिस्तान सुपर लिग (पिएसएल) को लिलामी प्रणालीमा हुने उच्च खर्चप्रति पनि असन्तुष्टि जनाएका छन्। युवा ब्याटर साइम अयुबले टी ट्वान्टीमा सीमित सफलताका बावजुद करिब १३ करोड रुपैयाँ कमाइरहेको उदाहरण दिँदै उनले अत्यधिक खर्चको औचित्यमाथि प्रश्न उठाएका छन्।
पाकिस्तान आर्थिक चुनौती सामना गरिरहेको अवस्थामा क्रिकेट प्रशासनले रकम वितरणको नीति पुनर्विचार गर्नुपर्ने उनको सुझाव छ। उनले घरेलु क्रिकेटको विकासमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन्। यु–१३, यु–१५, यु–१६, विद्यालय, विश्वविद्यालय, क्लब, फर्स्ट क्लास र ग्रेड टु स्तरमा लगानी नगरेसम्म दीर्घकालीन सुधार सम्भव नहुने उनको भनाइ छ। आइसिसी च्याम्पियन्स ट्रफी र २०१९ को टी ट्वान्टी वश्वकप विजेता टोलीका सदस्य रहेका शहजादले जरिवानाले वास्तविक सुधार नआउने तर्क गरेका छन्।
यो निर्णय दीर्घकालीन रणनीतिभन्दा पनि तत्कालीन प्रतिक्रिया जस्तो देखिने उनले स्पष्ट पारेका छन्। पाकिस्तान क्रिकेटमा लगातार कमजोर नतिजापछि उत्पन्न बहसबिच अनेक प्रश्न उठेको छ। के बोर्डले खेलाडीलाई मात्र दण्डित गरेर समाधान खोज्नेछ वा सम्पूर्ण संरचनामा सुधार गर्दै दीर्घकालीन योजना अघि बढाउनेछ? गत वर्ष पिसिबीले केन्द्रीय सम्झौतामा रहेका ३० खेलाडीको सूचीबाट क्याटेगोरी ‘ए’ हटाएको थियो भने मोहम्मद रिजवान र बाबर आजमलाई क्याटेगोरी ‘बी’ मा झारेको थियो।
प्रकाशित: २० फाल्गुन २०८२ ०६:२५ बुधबार





