प्रजातान्त्रिक गणतन्त्र कंगोको राष्ट्रिय फुटबल टोलीका सदस्यहरूले विश्वकपको लागि अमेरिका प्रवेश गर्नु अघि आइसोलेसनमा बस्नु पर्ने भएको छ।
ह्वाइट हाउस टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्रयू गिउलियानीले शुक्रबार कंगोली टोली २१ दिनको लागि आइसोलेसनमा बस्नुपर्ने बताए। कंगोमा इबोलाको प्रकोपका कारण उनीहरुलाई आइसोलेसन पछि मात्र अमेरिकामा प्रवेश दिइने एन्ड्रयूले बताए।
अहिले कंगोली प्रतिनिधिमण्डल बेल्जियममा प्रशिक्षण गरिरहेको छ। विश्वकपको लागि कंगो समूह ‘के’ मा छ। टोलीले पहिलो खेल जुन १७ मा ह्युस्टनमा पोर्चुगलसँग खेल्नेछ। त्यसपछि जुन २३ मा मेक्सिकोको ग्वाडालाजारामा कोलम्बियासँग र जुन २७ मा एटलान्टामा उज्बेकिस्तानसँग खेल्नेछ।
‘कंगोहरु जुन ११ मा ह्युस्टन आउन सक्नु अघि २१ दिनसम्म आइसोलेसनमा बस्न्परने हुन्छ,’ गिउलियानीले इएसपिएनलाई भने। ‘हामीले कंगो सरकारलाई पनि यो कुरा स्पष्ट पारेका छौं कि उनीहरूले आइसोलेसन कायम राख्नु पर्छ अन्यथा उनीहरूअमेरिका यात्रा गर्न नसक्ने जोखिममा पर्छन्।’
फ्रान्सेली मुख्य प्रशिक्षक सेबास्टियन देसाब्रे सहित कंगोका सबै टोली सदस्यहरू मध्य अफ्रिकी देश बाहिर छन्। धेरैजसो युरोपमा व्यावसायिक रूपमा खेल्छन्, जसमा इङ्गल्याण्डको प्रिमियर लिगमा डिफेन्डर आरोन वान–बिसाका (वेस्ट ह्याम युनाइटेड) र फरवार्ड योआन विसा (न्यूक्यासल युनाइटेड) र फ्रान्सको लिग १ मा कप्तान र डिफेन्डर चान्सेल म्बेम्बा (लिल) मा छन्।
गिउलियानीले विश्वकप नजिक स्वास्थ्य र सुरक्षाको मुद्दाहरूमा अमेरिकाले कुनै पनि जोखिम नलिने बताए।
यस महिनाको सुरुमा कंगोमा बुन्डिबुग्यो नामक दुर्लभ इबोलाको प्रकोप पुष्टि भएको थियो। लगभग ६०० शंकास्पद केसहरू मध्ये १३० भन्दा बढीको मृत्यु भएको छ।
प्रकोप फैलिएपछि कंगोको टीमले अहिले बेल्जियममा प्रशिक्षण गरिरहेको छ। जहाँ टोलीले जुन ३ मा लिजमा डेनमार्क विरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ भने जुन ९ मा दक्षिणी स्पेनमा चिलीविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ।
प्रकाशित: ९ जेष्ठ २०८३ ०८:१९ शनिबार





