भारतीय क्रिकेट टिमका अलराउन्डर हार्दिक पाण्डयाविरुद्ध राष्ट्रिय झण्डाको अपमान गरेको आरोपमा उजुरी दर्ता गरिएको छ।
पुणेका वकिल वाजिद खान बिडकरले बेंगलुरुमा उजुरी दर्ता गराएका भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ।
टी–२० विश्वकपमा भारतको जितपछि अहमदाबादमा उत्सव मनाउँदा पाण्डयामाथि भारतीय झण्डाको अपमान गरेको आरोप लागेको छ।
टिम इन्डियाको विजय उत्सवका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। एउटा भिडियोमा पाण्डया आफ्नो काँधमा झण्डा ओढेर मैदानमा नाचिरहेको र दौडिरहेको देखिन्छन्। सोहि क्रममा उनी स्टेजमा आफ्नी प्रेमिकासँग सुतेको भिडियोमा देखिन्छन्। उजुरीकर्ताले सोहि भिडियोलाई दाबि गर्दै राष्ट्रिय झण्डाको सम्मानविरुद्ध भएको बताएका छन्।
वकिल वाजिद खानले राष्ट्रिय सम्मानको अपमान निवारण ऐन, १९७१ ले झण्डाको गरिमा कायम राख्नुपर्ने बताए। उनले हार्दिक पाण्ड्याले उत्सवको क्रममा यो पालना नगरेको आरोप लगाए। उनले यस कानूनको धारा २ अन्तर्गत उजुरी दर्ता गरेका छन्।यस अन्तर्गत, झण्डालाई भुइँमा खसाले, अनुपयुक्त रूपमा लगाए वा यसको गरिमालाई अपमान गरेमा दण्डनीय हुने उल्लेख गरिएको छ।
भारतले फाइनलमा न्युजिल्याण्डलाई ९६ रनले हराउँदै टी–२० विश्वकपको उपाधि जितेको थियो। एजेन्सी
प्रकाशित: २८ फाल्गुन २०८२ १५:२८ बिहीबार





