१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

युवा गल्फरलाई प्रोत्साहन गर्न प्रतियोगिता

नेपाली प्रतिभालाई अन्तर्राष्ट्रियस्तरमा प्रोत्साहन गर्ने उद्देश्यले द हिमालयन स्विङ ओपन गल्फ २०२५ आयोजना हुने भएको छ।

रोटरी क्लब अफ हिमालयन गल्फर्सले कोष संकलनका लागि द हिमालयन स्विङ ओपन आयोजना गर्न लागेको हो। उक्त प्रतियोगिता आगामी कात्तिक १५ गते गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ। गल्फ फर अल परियोजनाका लागि कोष संकलन यो प्रतियोगिता गर्न लागिएको हो। 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै कोषबाट युवाहरू र महिलाको सहभागिता प्रवर्धन गर्ने आयोजकले जनाएको छ। गल्फ फर अल अभियान पहिलोपटक सुरु हुँदै छ। रोटरी क्लब अफ हिमालयन गल्फर्सले सेवा र खेललाई एकसाथ जोड्दै अवसर सिर्जना गर्ने उद्देश्यअनुरूप रहेको उल्लेख गरेको छ।

यस प्रतियोगिताबाट रोटेरियन, व्यवसायी, कूटनीतिज्ञ र गल्फ प्रेमीलाई एकै ठाउँमा ल्याउने आयोजकले जनाएको छ। प्रतियोगिताबाट संकलन हुने रकम गल्फ फर अल अभियानका लागि खर्च गरिने गरिने भएको छ। यो रकमबाट सबैभन्दा पहिला प्रतिभाशाली १५ वर्षीया गल्फर अवानी राई लाभान्वित हुने आयोजकले उल्लेख गरेको छ। 

भारतको कर्नाटकस्थित तरुण सरदेसाई गल्फ एकेडेमीमा अवानीको अध्ययनका खर्च गरिने भएको छ। अवानीको अध्ययनका लागि रोटरी क्लब अफ हिमालयन गल्फर्सले ८० प्रतिशत र बाँकी २० प्रतिशत उनको परिवारले खर्च गर्नेछ। क्लबका अध्यक्ष रोटेरियन दमन घलेले अवानीको छनोटप्रति खुसी व्यक्त गर्दै उनी प्रतिभाशाली र अनुशासित खेलाडी रहेको उल्लेख गरेका छन्। युवा खेलाडी अवानीले पनि आफूलाई विश्वास गर्दै ठुलो अवसर दिएकोमा रोटरी क्लब अफ हिमालयन गल्फर्सलाई धन्यवाद दिइन्।

साथै देशबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने आफ्नो सपनाको नजिक पुर्‍याइदिएको उनले उल्लेख गरिन्। रोटरी क्लब अफ हिमालयन गल्फर्सकी सदस्य आरतीराज्य राणाले यस वर्ष करिब ५० लाख रुपैयाँ सम्म रकम संकलन गर्ने अपेक्षा रहेको र त्यो रकम गल्फ फर अलका लागि खर्च गरिने उल्लेख गरिन्। रकम संकलनका लागि हुने प्रतियोगितामा कुल एक सय २० गल्फरले चुनौती प्रस्तुत गर्ने आयोजकले 
जनाएको छ।

विजेताले दुबईको राउन्ड ट्रिप टिकट र एक विजेतालाई युरोपको राउन्ड ट्रिप टिकट पुरस्कार पाउनेछन्। दशौं होलमा होल इन वान गर्ने गल्फरले बिवाइडी एट्टो थ्री पुरस्कार पाउने आयोजकले उल्लेख गरेको छ।

प्रकाशित: ११ कार्तिक २०८२ ०८:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App