इटहरीमा जारी शनिबारको १६ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको अन्तिम सेमिफाइनल खेल आज साँझ सातदोबाटो युथ क्लब ललितपुर र प्लानिङ ब्वाइज काडमाडौंबिच हुनेछ। यसअघिको क्वाटरफाइनल खेलमा सातदोबाटो युथ क्लबले आयोजक राष्ट्रियय जागृतिलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो।
क्वाटरफाइनल खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा सुरक्षित गरेको थियो। यस्तै, प्लानिङ् ब्वाइज यूनाइटेड क्लबले खर्साङ फुटबल क्लब युकेएफसीलाई ३–१ गोल अन्तरले पारजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो।
शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा साविक बिजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै युवा समाज मोरङ फाइनलमा प्रवेश गरेको छ। युवा समाज मोरङले मछिन्द्रलाई सडेनडेथमा ५–४ गोल अन्तरले पराजित गर्दै फाइनल पुग्ने पहिलो टोली बनेको हो।
खेलको प्लेयर अफ दि म्याच युवा समाज मोरङ्का पदम भटराई घोषित भए। उनले नगद १० हजार हात पार्न सफल भए। राष्ट्रिय जागृति क्लबले आयोजना गरेको खेलको फाइनल बिजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ। फाइनल खेल वैशाख ७ गते हुनेछ।
प्रकाशित: ५ वैशाख २०८३ १२:५४ शनिबार





